अक्सफोर्ड र ओपनएआईको पाँचवर्षीय सहकार्य: कृत्रिम बुद्धिमत्ताको नयाँ युगमा शिक्षा र अनुसन्धानलाई गति

Image Source: University of Oxford

बिबिसीका अनुसार अक्सफोर्ड विश्वविद्यालयले संसारकै चर्चित कृत्रिम बुद्धिमत्ता प्रविधि विकासकर्ता ओपनएआईसँग पाँचवर्षीय सहकार्य गर्ने घोषणा गरेको छ। यस साझेदारीअन्तर्गत विश्वविद्यालयका विद्यार्थी तथा अनुसन्धानकर्ताले अत्याधुनिक एआई प्रविधिहरूमा पहुँच पाउनेछन् भने अनुसन्धान र शैक्षिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने कोर्ससमेत उपलब्ध गराइनेछ।

विश्वविद्यालयका अनुसार यस सम्झौताले अध्यापन, सिकाइ तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउनेछ। साथै, ऐतिहासिक बोड्लियन पुस्तकालयको केही सार्वजनिक सङ्ग्रह डिजिटल रूपमा उपलब्ध गराउने योजना रहेको छ, जसले दुर्लभ तथा महत्वपूर्ण कृतिहरूलाई विश्वभर सहज पहुँचयोग्य बनाउनेछ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत ब्राड लाइटक्यापका अनुसार शैक्षिक क्षेत्रसँगको निरन्तर सहकार्यले एआईलाई सबैका लागि लाभदायक बनाउने दिशामा मद्दत गर्नेछ। यस साझेदारीअन्तर्गत अक्सफोर्डका अनुसन्धानकर्ताले ओपनएआईका नवीनतम मोडेलहरूमा विशेष पहुँच प्राप्त गर्नेछन्, जसमा शैक्षिक संस्थाहरूका लागि विशेष रूपमा डिजाइन गरिएको च्याटजीपीटीको संस्करण पनि समावेश छ।

यस कार्यक्रममार्फत अक्सफोर्ड विश्वविद्यालयले स्वास्थ्य तथा जलवायु परिवर्तनजस्ता महत्वपूर्ण अनुसन्धान क्षेत्रमा प्रविधिको भूमिकालाई तीव्र रूपमा अघि बढाउने अवसर पाउनेछ। विश्वविद्यालयका अनुसन्धान उपकुलपति प्राध्यापक प्याट्रिक ग्रान्टका अनुसार कृत्रिम बुद्धिमत्ताले वैज्ञानिक खोज तथा जटिल डेटा विश्लेषणलाई तीव्र बनाइरहेको छ। उनले विश्वविद्यालयलाई एआई अनुसन्धानको अग्रणी संस्थाका रूपमा स्थापित गर्न तथा समाजलाई नयाँ प्रविधिसँग अनुकूलन गर्न सहायता पुर्‍याउने उल्लेख गरे।

बोड्लियन पुस्तकालयका प्रमुख पुस्तकालय प्रमुख रिचर्ड ओभेन्डेनका अनुसार प्रविधिको सहायताले ज्ञानलाई विश्वभर फैलाउने परम्परागत अभियानलाई अझ प्रभावकारी बनाउन सकिन्छ। उनले पुस्तकालयको मुख्य उद्देश्य ज्ञानलाई संकलन, संरक्षण तथा प्रवाह गर्ने रहेको बताउँदै डिजिटल रूपान्तरणले यस प्रक्रियालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

ओपनएआईको सहभागितामा सञ्चालन भइरहेको नेक्स्टजेनेएआई परियोजनाले अक्सफोर्ड विश्वविद्यालयलाई यस साझेदारीमा जोडेको हो। यस परियोजना अन्तर्गत बेलायत तथा अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरू एआईको प्रभावकारी उपयोगका लागि सहकार्य गरिरहेका छन्। लाइटक्यापका अनुसार नेक्स्टजेनेएआई परियोजनाले अनुसन्धानलाई तीव्र गति दिने तथा नयाँ संस्थाहरूलाई एआईको रूपान्तरणकारी शक्ति उपयोग गर्न सक्षम बनाउने उद्देश्य राखेको छ।

तपाईको प्रतिकृया