
नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र बिना अनुमति सञ्चालन भइरहेको इन्टरनेट सेवाबारे गम्भीर ध्यानाकर्षण गराउँदै कडा कारबाहीको चेतावनी दिएको छ। प्राधिकरणले हालै सार्वजनिक गरेको एक जरुरी सूचनामा विशेषगरी हिमाल आरोहणमा संलग्न कम्पनीहरुले विदेशी स्याटेलाइट इन्टरनेट सेवा अवैधरूपमा प्रयोग गरिरहेको पाइएको जानकारी दिएको हो।
उक्त सूचनामा सगरमाथा लगायतका अग्ला हिमालहरुको आधार शिविर क्षेत्रहरुमा विदेशी सेवा प्रदायक कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा प्रयोगमा आएको पुष्टि भएको उल्लेख छ। यस्तो कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २१ को स्पष्ट उल्लङ्घन हुने भएकाले तुरुन्तै बन्द गर्न प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरण स्रोतका अनुसार हाल स्टारलिंक नामक कम्पनीको सेवा अनुमति बिना प्रयोगमा ल्याइएको छ। यो कम्पनी स्पेसएक्स अन्तर्गत सञ्चालन हुन्छ र हालसम्म नेपालमा आफ्नो सेवा सञ्चालनका लागि कुनै अनुमति लिएको छैन।
गत वर्ष चर्चित आरोही निर्मल पुर्जा संचालित इलाइट हिमालयन एड्भेन्चर्स प्रालिले पनि यस्तै उपकरण बिना अनुमति नेपाल भित्र्याएको उजुरी दर्ता भएको थियो। उक्त उपकरणहरु सगरमाथा आधार शिविरसम्म पुर्याइसकेको पाइएपछि मात्र कम्पनीले अनुमति माग गरेको थियो।
नेपालमा विदेशी लगानीको सन्दर्भमा अधिकतम ८० प्रतिशतसम्म मात्र अनुमति दिने कानुनी प्रावधान भएपनि स्टारलिंकले नेपालमा शतप्रतिशत लगानी सहित सिधा सेवा दिने प्रस्ताव अघि सारेको छ। यसै सन्दर्भमा कम्पनीका प्रतिनिधिहरुले सञ्चार मन्त्रीलाई भेट गरेका थिए भने कम्पनी प्रमुख इलन मस्कले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भर्चुअल बैठक समेत गरेका थिए।

प्राधिकरणले अब अनधिकृत इन्टरनेट सेवा प्रयोग गर्ने वा गराउने दुवैलाई कानुनी दायरामा ल्याउने स्पष्ट सन्देश दिएको छ। सेवा संचालनका लागि सम्बन्धित निकायबाट पूर्व अनुमति लिनु अपरिहार्य रहेको प्राधिकरणले चेतावनी दिएको छ।