
बिबिसीका अनुसार
विश्वकै ठूलो अनलाइन खुद्रा विक्रेता अमेजनविरुद्ध उपभोक्ताको मोबाइल गुप्त रूपमा ट्र्याक गरेको आरोपमा कानुनी कारबाही सुरु भएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतमा दायर गरिएको समूहगत मुद्दामा अमेजनले उपभोक्ताहरूको मोबाइलमार्फत व्यक्तिगत जानकारी संकलन गरेको तथा तिनलाई बेच्ने गरेको दाबी गरिएको छ।
सुरक्षा तथा गोपनीयता उल्लङ्घनसम्बन्धी यो मुद्दा सान फ्रान्सिस्को संघीय अदालतमा दर्ता गरिएको हो। उजुरीकर्ताका अनुसार, अमेजनले Amazon Ads SDK नामक कोड लाखौं मोबाइल एप्लिकेसनहरूमा समावेश गरी उपभोक्ताहरूको गतिविधि निगरानी गरिरहेको छ। उक्त कोडमार्फत उपभोक्ताहरूको बसोबास गर्ने स्थान, कार्यक्षेत्र, किनमेल स्थल र अन्य संवेदनशील जानकारी सङ्कलन गरिएको आरोप लगाइएको छ। यसबाट तिनीहरूको धार्मिक आस्था, यौन झुकाव तथा स्वास्थ्यसम्बन्धी सूचनाहरू समेत संकलन भइरहेको उजुरीमा उल्लेख छ।
यस मुद्दा क्यालिफोर्नियाका बासिन्दा फेलिक्स कोलोटिन्स्कीले दर्ता गराएका हुन्। उनको दाबी अनुसार, उनले आफ्नै मोबाइलमा रहेको “Speedtest by Ookla” एपमार्फत अमेजनले निजको व्यक्तिगत जानकारी अनधिकृत रूपमा संकलन गरिरहेको भेटेका थिए। उनले यस कार्यलाई क्यालिफोर्नियाको आपराधिक कानुन तथा अनधिकृत कम्प्युटर पहुँचसम्बन्धी कानुन उल्लङ्घन गरेको भन्दै अदालतमा मुद्दा हालेका छन्। उनीमात्र नभई लाखौं क्यालिफोर्नियाली नागरिकहरूले पनि यही समस्याको सामना गरिरहेको दाबी छ। मुद्दामा प्रभावित उपभोक्ताहरूका लागि अनिश्चित क्षतिपूर्ति दाबी गरिएको छ।
यस विषयमा अमेजनको तर्फबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यस्तै, उजुरीकर्ताका कानुनी प्रतिनिधिहरूले पनि थप टिप्पणी गर्न अस्वीकार गरेका छन्।
मोबाइल फोनमार्फत अनुमति विना व्यक्तिगत डेटा सङ्कलन गरेर व्यावसायिक फाइदा लिने प्रवृत्ति प्रति हाल उपभोक्ताहरू र नियामक निकायहरू चिन्तित देखिएका छन्। यसै महिनाको १३ तारिखमा अमेरिकी राज्य टेक्सासले बीमा कम्पनी अलस्टेटविरुद्ध पनि यस्तै मुद्दा दायर गरेको थियो। अलस्टेटले मोबाइल फोनबाट चालकको गतिविधि ट्र्याक गरी बीमा शुल्क बढाउने वा बीमा अस्वीकार गर्ने गरेको आरोप लागेको थियो।
यस मुद्दाले डिजिटल गोपनीयता तथा उपभोक्ताको अधिकारका बारेमा गम्भीर बहस चर्काउने देखिन्छ। अदालतमा मुद्दा चलिरहँदा यसको अन्तिम नतिजाले डिजिटल निगरानीसम्बन्धी अन्तर्राष्ट्रिय कानुनी संरचनालाई समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।