एक्रोब्याटमा नयाँ एआई विशेषता, सम्झौता विश्लेषणमा सहजता

एक्रोब्याट प्रयोगकर्ताहरूका लागि खुसीको खबर, अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले सम्झौता विश्लेषणलाई थप सरल बनाउने भएको छ। एडोबीले आफ्नो एआई सहायक, एक्रोब्याट एआई असिस्टेन्टमा नयाँ विशेषताहरू थपेको छ। यी विशेषताहरूले प्रयोगकर्ताहरूलाई कागजातहरू तुलना गर्न र तिनीहरूमा भएका भिन्नताहरू छिटो र सजिलै पहिचान गर्न मद्दत गर्नेछन्।

डिजाइन कम्पनी एडोबीका अनुसार, नयाँ विशेषताले कन्ट्र्याक्ट इन्टेलिजेन्स प्रयोग गर्दछ। जसअनुसार एआई असिस्टेन्टले कुनै पनि कागजात सम्झौता हो भने स्वचालित रूपमा पहिचान गर्नेछ र मुख्य सर्तहरू उल्लेख गर्दै एउटा संक्षिप्त विवरण तयार पार्नेछ। साथै, सम्झौताको बारेमा सोध्न सकिने प्रश्नहरू पनि सुझाउनेछ। यो सुविधा स्क्यान गरिएका कागजातहरूको हकमा पनि उपलब्ध छ।

एडोबी डकुमेन्ट क्लाउडका वरिष्ठ उपाध्यक्ष अभिज्ञान मोदीले भने, “ग्राहकहरूले प्रत्येक महिना एडोबी एक्रोब्याटमा अर्बौं सम्झौता खोल्छन् र एआईले उनीहरूको अनुभवलाई सरल बनाउन गेम चेन्जरको रूपमा काम गर्न सक्छ।” उनले थपे, “हामी एडोबी एआई असिस्टेन्टमा कन्ट्र्याक्ट इन्टेलिजेन्स प्रदान गर्न नयाँ क्षमताहरू प्रस्तुत गर्दैछौं, जसले ग्राहकहरूलाई यी जटिल कागजातहरू बुझ्न र तुलना गर्न सजिलो बनाउँछ। यसले प्रतिक्रियाहरू प्रमाणित गर्न मद्दत गर्नका लागि उद्धरणहरू प्रदान गर्दछ, र डाटालाई सुरक्षित राख्छ।”

अब प्रयोगकर्ताले डेस्कटप, वेब र मोबाइलमा एक्रोब्याट एआई असिस्टेन्ट प्रयोग गर्न सक्नेछन्। व्यक्तिगत ग्राहकहरूका लागि यो सुविधा मासिक ४.९९ डलरको अतिरिक्त शुल्कमा उपलब्ध हुनेछ। बिबिसीका अनुसार, एडोबीको यो नयाँ प्रविधिले कानूनी क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। यसले समयको बचत गर्नुका साथै सम्झौतामा भएका जटिल बुँदाहरूलाई सरल रूपमा बुझ्न मद्दत गर्नेछ।

तपाईको प्रतिकृया