एडोबी क्रियटिभ क्लाउडमा नयाँ एआई फिचर उपलब्ध

एडोबीले आफ्नो क्रियटिभ क्लाउड अन्तर्गतका एपहरूमा नयाँ एआई फिचर थप गरेको छ। हालै सम्पन्न एक कार्यक्रममार्फत फोटोशप, इलुस्ट्रेटर, इनडिजाइन, र प्रिमियर प्रोमा यी विशेषताहरू समावेश गरिएको हो। यसले प्रयोगकर्ताहरूका लागि सिर्जनात्मक कामलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

फोटोशपमा नयाँ ‘डिस्ट्रयाकसन रिमुभल’ फिचर समावेश गरिएको छ, जसले फोटोका अनावश्यक वस्तुहरूलाई स्वत: पहिचान गरी हटाउनेछ। तार वा मान्छेजस्ता वस्तु हटाउन यो फिचर विशेष उपयोगी मानिएको छ। साथै, जेनेरेटिभ फिल, एक्सपान्ड, सिमिलर, र ब्याकग्राउन्डजस्ता टुलहरू पनि थप गरिएका छन्। फायरफ्लाई इमेज थ्री मोडल अपडेटपछि अझै वास्तविक फोटो तयार गर्न सकिने बताइएको छ।

इलुस्ट्रेटरमा नयाँ ‘अब्जेक्ट अन पाथ’ फिचरले वस्तुहरूलाई सजिलै अट्याच, एरेन्ज र सार्न सहायता पुर्‍याउनेछ। थ्रीडी मोडल डिजाइनका लागि मकअप टुल र फोटोलाई भेक्टरमा रुपान्तरण गर्ने सुधारित टुल पनि उपलब्ध गराइएको छ।

इनडिजाइनमा फोटोशपको जेनेरेटिभ एक्सपान्ड टुल समावेश गरिएको छ। प्रिमियर प्रोमा ‘फायरफ्लाई एआई भिडिओ मोडल’ थपिएसँगै भिडियो सम्पादनमा पनि क्रान्तिकारी सुधार भएको छ।

एडोबीले यी फिचरहरू प्रयोगमा ल्याएपछि सिर्जनात्मक कार्यको प्रक्रिया थप सरल र छिटो हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिकृया