एनसेलको क्रिकेटबाट शिक्षासम्मको यात्रा: २६०० बढी शैक्षिक सामग्री वितरण हुने

काठमाडौं। एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई २,६१२ शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिएका प्रत्येक चौका वापत चार शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता अनुसार यो कार्यक्रम अघि बढाइएको हो।

शनिबार सम्पन्न एनपीएलमा कूल ६५३ चौका हानिएका थिए। यो आधारमा एनसेलले विद्यार्थीहरूका लागि स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, र कटरजस्ता स्टेसनरी सामग्री उपलब्ध गराउने छ। यस पहलले विशेषगरी स्रोतको अभाव झेलिरहेका विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूद्वारा सुनिश्चित भएका सामग्रीहरू विशेष चर्चा योग्य छन्। जनकपुर बोल्टका लाहिरु मिलान्थाले सबैभन्दा बढी ३५ चौका हानेर १४० शैक्षिक सामग्री सुनिश्चित गरे भने पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौकाको योगदानद्वारा १२० सामग्री सुनिश्चित गरे। यस्तै, लुम्बिनी लायन्सका रोहितकुमार पौडेलले २६ चौकाको योगदानबाट १०४ सामग्री वितरण सुनिश्चित गरे।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काका अनुसार क्रिकेट र सामाजिक कार्यलाई जोड्दै शिक्षाका लागि स्रोत उपलब्ध गराउने यो पहलले विद्यार्थीहरूको उज्ज्वल भविष्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। एनसेलले शैक्षिक सामग्री लक्षित विद्यार्थीहरूसम्म पुर्‍याउन कर्मयोग फाउन्डेसनसँग सहकार्य गर्ने जनाएको छ।

क्रिकेटप्रतिको चासोलाई शिक्षासँग जोड्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न गरिएको यो प्रयासले नेपाली सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिकृया