एनसेलको रिचार्ज भ्यालिडिटी घटाइएपछि ग्राहकमा असन्तुष्टि

काठमाडौं। मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको रिचार्ज तथा टपअपको मान्य अवधि घटाइएपछि ग्राहकहरूले सामाजिक सञ्जालमार्फत गुनासो व्यक्त गर्न थालेका छन्। नयाँ नीति अनुसार १००० रुपैयाँसम्मको रिचार्जमा ९० दिनको मात्र भ्यालिडिटी उपलब्ध गराइने छ, जुन प्रतिस्पर्धी नेपाल टेलिकमको तुलनामा निकै कम हो। टेलिकमले सोही रिचार्जमा ७३० दिनसम्मको मान्य अवधि उपलब्ध गराउँदै आएको छ।

ग्राहकहरूले एनसेलको यो नीतिप्रति असन्तुष्टि जनाउँदै कल तथा डेटाको न्यून प्रयोग गर्ने ग्राहकहरू विशेष प्रभावित भएको बताएका छन्। यस परिवर्तनलाई कम्पनीले ग्राहकलाई प्याकेज सेवामा प्रोत्साहन गर्ने उद्देश्य रहेको बताएको छ। एनसेलका अनुसार “पे एज यु गो” मोडेल तुलनात्मक रूपमा महँगो पर्ने भएकाले ग्राहकलाई सधैँअन प्याकेजतर्फ आकर्षित गराउन नयाँ नीति लागू गरिएको हो।

कम्पनीले डिजिटल रिचार्जलाई प्रवर्द्धन गर्ने उद्देश्यले एनसेल एपमार्फत टपअप गर्दा अतिरिक्त भ्यालिडिटी दिने विकल्पसमेत प्रस्तुत गरेको छ। यसले भौतिक रिचार्ज कार्डको उपयोग घटाउँदै डिजिटल सेवामा रूपान्तरण गराउने प्रयास भइरहेको एनसेलले जनाएको छ।

नयाँ नीतिप्रति ग्राहकहरूको आलोचना बढ्दै गए पनि एनसेलले यो परिवर्तन दीर्घकालीन रूपमा ग्राहक र बजारको हितमा हुने दाबी गरेको छ। कम्पनीले ग्राहकलाई डेटा र भ्वाइस सेवाको नियमित उपयोगका लागि मासिक र साप्ताहिक सब्सक्रिप्सन मोडेल लागू गर्ने योजना ल्याएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले यो विषयमा कुनै स्पष्ट निर्देशिका नदिएको र एनसेलले आफ्नो नीतिको बारेमा प्राधिकरणलाई जानकारी गराइसकेको जनाएको छ। प्राधिकरणका प्रवक्ताका अनुसार यो विषय अहिले निर्णय प्रक्रियामा रहेको छ।

एनसेलका सीईओ जाब्बोर कायुमोभका अनुसार फाइभजी प्रविधि सञ्चालन गर्न वार्षिक २० अर्ब रुपैयाँको लगानी आवश्यक पर्ने भएकाले यो नीति लागू गरिएको हो। आगामी पाँच वर्षभित्र आम्दानी ५० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राख्दै एनसेलले नयाँ मोडेलमार्फत आफ्नो सेवा सुधार गर्न र डिजिटल प्रविधिमा रूपान्तरण गर्न अग्रसर हुने जनाएको छ।

तपाईको प्रतिकृया