
बीबीसीका अनुसार, एप्पलले बुधबार नयाँ म्याकबुक एयर मोडेल सार्वजनिक गर्दै पछिल्लो एम४ चिप र एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधि समावेश गरेको छ। कम्पनीले अघिल्लो पुस्ताको तुलनामा मूल्य १०० अमेरिकी डलरले घटाएको छ, जसले उपभोक्ताहरूलाई नयाँ उपकरण किन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
नयाँ म्याकबुक एयरको १३-इन्च संस्करणको प्रारम्भिक मूल्य ९९९ डलर राखिएको छ भने १५-इन्च संस्करण १,१९९ डलरमा उपलब्ध हुनेछ। यी डिभाइसहरूका लागि अर्डर बुधबारदेखि खुला गरिएको छ भने मार्च १२ बाट स्टोरमा उपलब्ध हुनेछन्। एप्पलले एआई-सम्बन्धित विशेषताहरू प्रस्तुत गर्दै प्रतिस्पर्धी बजारमा आफ्नो स्थान बलियो बनाउन खोजेको देखिन्छ।
कम्पनीको नयाँ ‘एप्पल इन्टेलिजेन्स’ सुविधाले प्रयोगकर्ताहरूलाई इमेल लेख्न, सन्देश टाइप गर्न, फोटो सम्पादन गर्न जस्ता कार्यमा सहजता प्रदान गर्नेछ। यसअघि गत वर्ष आईफोनका लागि उपलब्ध गराइएको यो सुविधा अहिले विभिन्न भाषामा विस्तार गरिएको छ, जसले उपभोक्ता संख्यामा वृद्धिको अपेक्षा गरिएको छ।
म्याक बिक्रीमा पछिल्लो समय सुधार देखिएको छ। एप्पलको म्याक बिक्री ८.९९ अर्ब डलर पुगेको छ, जुन विश्लेषकहरूको अनुमान ७.९६ अर्ब डलरभन्दा माथि हो। यसले कम्पनीलाई थप आशावादी बनाएको छ कि एआई प्रविधिले बजार पुनरुत्थान गर्न मद्दत गर्नेछ।
त्यसैगरी, एप्पलले बुधबार नयाँ एम ३ अल्ट्रा प्रोसेसर पनि सार्वजनिक गरेको छ, जसले पहिलाका संस्करणहरूभन्दा राम्रो कार्यक्षमता दिने दाबी गरिएको छ। यो प्रोसेसर एप्पलको नयाँ म्याक स्टुडियो उपकरणमा राखिनेछ, जसले ६०० अर्बभन्दा बढी प्यारामिटर भएको भाषा मोडेल कम्प्युटरभित्रै सञ्चालन गर्न सक्ने क्षमता राख्छ।
नयाँ म्याक स्टुडियो उपकरण विशेष गरी एआई विकासकर्ता, भिडियो तथा फोटो सम्पादकहरूका लागि लक्षित छ। यसको प्रारम्भिक मूल्य १,९९९ डलर राखिएको छ। एम३ अल्ट्रा चिपसहितको संस्करणमा न्यूनतम ९६ गिगाबाइट मेमोरी उपलब्ध हुनेछ भने एम४ म्याक्स चिपसहितको संस्करणमा कम्तीमा ३६ गिगाबाइट मेमोरी रहनेछ।
एप्पलले पछिल्ला केही वर्षमा आफ्ना उत्पादनमा एआई प्रविधि समावेश गर्दै प्रतिस्पर्धी बजारमा नयाँ सम्भावनाहरू खोजिरहेको छ। कम्पनीको नवीनतम प्राविधिक विकासले उपभोक्तामाझ नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ।