ओपनएआईले जीपीटी ४.५ सार्वजनिक गर्यो, नयाँ मोडेल अहिलेसम्मकै शक्तिशाली

ओपनएआईले आफ्नो नयाँ जेनेरेटिभ एआई मोडेल जीपीटी ४.५ सार्वजनिक गरेको घोषणा गरेको छ। यस मोडेललाई “ओरायन” कोडनेम दिइएको छ र कम्पनीका अनुसार यो ओपनएआईको अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली मोडेल हो।

कम्पनीका सीईओ साम अल्टम्यानका अनुसार जीपीटी ४.५ लाई प्रशिक्षित गर्न धेरै कम्प्युटिङ शक्ति र डेटा प्रयोग गरिएको छ। तर, पर्याप्त जीपीयू नभएकाले यसको सार्वजनिक प्रक्रिया केही ढिलो गरिएको हो। हाललाई, जीपीटी ४.५लाई अनुसन्धान पूर्वावलोकनका रूपमा मात्र उपलब्ध गराइएको छ। महिनाको २ सय डलर शुल्क तिर्ने च्याटजीपीटी प्रो ग्राहकहरूले यसलाई तत्कालै प्रयोग गर्न पाउनेछन्, भने च्याटजीपीटी प्लस र च्याटजीपीटी टिम ग्राहकहरूले अर्को हप्ताबाट नयाँ मोडेलको पहुँच प्राप्त गर्नेछन्।

वाई कम्बिनेटर स्टार्टअप अप्टिफाई विवादमा

वाई कम्बिनेटरको स्टार्टअप अप्टिफाई डट एआईको एक डेमो भिडियो सामाजिक सञ्जालमा विवादित बन्यो। उक्त भिडियोमा अप्टिफाईले कारखानामा कार्यरत मजदुरहरूको गतिविधि “रियल टाइम” मा ट्र्याक गर्न एआई सञ्चालित सुरक्षा क्यामराहरू प्रयोग गर्ने सफ्टवेयर निर्माण गरिरहेको देखाइएको थियो।

टेकक्रञ्चका अनुसार भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल एक्समा प्रयोगकर्ताहरूले यसलाई आलोचना गरे। @VCBrags नामक प्रयोगकर्ताले यसलाई “sweatshops-as-a-service” भनेर भने र अन्यले “computer vision sweatshop software” भनेर गम्भीर आपत्ति जनाए। आलोचनाका कारण वाई कम्बिनेटरले सो पोस्ट हटाएको छ।

अमेजनको नयाँ एलेक्सा प्लस सार्वजनिक

यसैबीच, अमेजनले आफ्नो नयाँ एआई-समर्थित भ्वाइस असिस्टेन्ट “एलेक्सा प्लस” सार्वजनिक गरेको छ। यो सेवा अन्य जेनेरेटिभ एआई च्याटबोटहरूसँग प्रतिस्पर्धा गर्न ल्याइएको हो। अमेजनले एलेक्सा प्लसको मासिक शुल्क १९.९९ डलर तोकेको छ।

तर, अमेजन प्राइम ग्राहकहरूलाई यो सेवा निःशुल्क उपलब्ध हुनेछ। प्रारम्भिक रूपमा, एलेक्सा प्लस आगामी महिनादेखि अमेरिकामा सीमित ग्राहकहरूका लागि उपलब्ध गराइनेछ। साथै, अमेजनले एलेक्साका लागि नयाँ वेब प्लेटफर्म “एलेक्सा डट कम” र नयाँ इन्टरफेस तथा सुविधासहितको मोबाइल एपसमेत सार्वजनिक गर्ने घोषणा गरेको छ।

तपाईको प्रतिकृया