ओ.एमजी केबल: सामान्य चार्जरभित्र लुकेको असाधारण साइबर खतरा

साइबर सुरक्षा विज्ञहरूले “ओ.एमजी केबल” भनिने सामान्य चार्जिङ केबलबाट गम्भीर साइबर खतराको चेतावनी दिएका छन्। यो केबलले वेब सर्भर, वाई–फाई, र यूएसबी कम्युनिकेशनको प्रयोग गरी डाटा चोरी, मालवेयर स्थापना, र डिभाइस नियन्त्रण गर्न सक्षम बनाउने उल्लेख गरिएको छ।

अमेरिकी विशेषज्ञ रायन मोन्टगोमेरीले यो खतराबारे जानकारी दिँदै भने, “लुकेको इम्प्लान्टले डिभाइसलाई विनाश गर्न सक्छ।” ओ.एमजी केबल साधारण चार्जिङ केबलजस्तै देखिए पनि यसभित्रको परिष्कृत प्रविधिले टाढाबाटै पहुँच दिन सक्षम छ।

सन् २०१९ मा १८० अमेरिकी डलर लागतमा पहिलो पटक सार्वजनिक गरिएको यस केबलको पछिल्लो संस्करण “एलिट सिरिज” मा USB-A र USB-C पोर्टहरूसँगको अनुकूलता, डाटा निकासी, र टाढाबाट पहुँचजस्ता थप विशेषता समावेश छन्।

एफबीआईले सार्वजनिक यूएसबी पोर्टहरूको प्रयोग गर्दा जोखिम बढ्ने बताउँदै आफ्नै चार्जर र केबल प्रयोग गर्न सुझाएको छ। “जूस ज्याकिङ” भनिने यो प्रविधिले ह्याकरहरूलाई डाटा चोरी र उपकरण नियन्त्रण गर्न सहज बनाउँछ। विज्ञहरूले साझा चार्जर वा सार्वजनिक पोर्ट प्रयोग नगर्न र आवश्यक परेमा केवल चार्जका लागि मात्र अनुमति दिने उपकरण प्रयोग गर्न सल्लाह दिएका छन्।

ओ.एमजी केबलले साइबर अपराधमा वृद्धि र व्यक्तिगत डाटाको सुरक्षामा सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। सावधानी अहिले केवल सिफारिस मात्र नभई आवश्यकता बनेको छ।

तपाईको प्रतिकृया