किशोरकिशोरीमाथि अनलाइन अन्तरङ्ग साथीबाट हुने हिंसा बढ्दो

पोखरा। पछिल्लो समय किशोरकिशोरी र युवायुवतीमाथि अनलाइनमार्फत अन्तरङ्ग साथीबाट हुने हिंसाको घटना बढ्दै गएको देखिएको छ। बालबालिका र युवाहरूलाई सुरक्षित इन्टरनेट प्रयोगको ज्ञान दिन काम गर्दै आएको संस्था चाइल्डसेफनेटले सार्वजनिक गरेको प्रतिवेदनले यसबारे तथ्याङ्क उजागर गरेको हो।

“अनलाइन इन्टिमेट पार्टनर भ्वाइलेन्स एगेन्स्ट टिन्स एण्ड योङ पिपुल इन नेपाल” नामक प्रतिवेदन अनुसार, सुनसरी जिल्लामा अनलाइन हिंसाको दर उच्च देखिएको छ। सुनसरीका ५८ प्रतिशत किशोरकिशोरी र युवायुवतीले अन्तरङ्ग साथीबाट अनलाइन हिंसा भोगेका छन्। उक्त अध्ययनमा १६ देखि २४ वर्षसम्मका ४ हजार ३५२ जना किशोरकिशोरी तथा युवायुवतीलाई समावेश गरिएको थियो।

अध्ययनले १६ देखि १८ वर्षका किशोरकिशोरीहरूमा हिंसाको असर बढी रहेको देखाएको छ। यस्तै, पुरुषहरूमा अनलाइन हिंसाको दर २७ प्रतिशत छ भने महिलाहरूमा २१ प्रतिशत रहेको उल्लेख छ। अनलाइन हिंसाका घटनामा गालीगलौज, धम्की, तथा पूर्वप्रेमी वा प्रेमिकाबाट उत्पन्न मानसिक दवाब प्रमुख रहेको पाइएको छ।

यसैगरी, सोसल मिडियामा पासवर्ड साटासाट गर्ने वा सीमित समयमा यौनजन्य सम्बन्धमा रहनेजस्ता क्रियाकलापले हिंसालाई अझै बढावा दिएको प्रतिवेदनमा उल्लेख छ। पीडितहरूले यस्तो हिंसालाई सामान्य रूपमा लिने वा यसबारे बेखबर रहने प्रवृत्ति देखिएको छ।

सातै प्रदेशका १० जिल्लाका १३ पालिकामा गरिएको अध्ययनले सुनसरीसहित पर्सा, काठमाडौँ, चितवन, दाङ, झापा, लमजुङ, कास्की, डोटी र सुर्खेतमा अनलाइन हिंसाका विविध आयामलाई उजागर गरेको छ।

चाइल्डसेफनेटका संस्थापक अध्यक्ष अनिल रघुवंशीका अनुसार, यस्तो खालको अनुसन्धान नेपालमा मात्र नभई विश्वमै पहिलो हो। एसभीआरआइसँगको सहकार्यमा तयार गरिएको प्रतिवेदनले किशोरकिशोरी र युवायुवतीलाई अनलाइन सुरक्षाबारे सचेत गराउन महत्त्वपूर्ण आधार प्रदान गरेको छ।

तपाईको प्रतिकृया