क्यान महासंघले पहिलो महिला अध्यक्ष पाउँदै

काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आफ्नो इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाउन लागेको छ। महासंघको ३१ औँ वार्षिक साधारणसभा तथा १५ औँ महाधिवेशनबाट सुनैना घिमिरे पाण्डे अध्यक्ष बन्ने तय भएको छ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा मात्र सुनैना घिमिरे पाण्डेको उम्मेदवारी परेको छ। नाम दर्ताको म्याद बुधबार ३ बजे सकिएसँगै उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको हो। यद्यपि, औपचारिक घोषणा भने पुस १३ गते हुने मतदान प्रक्रिया सम्पन्न भएपछि मात्र हुनेछ।

पाण्डेले यसअघि २०७६ सालमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेकी थिइन्। त्यसबेला उनी नवराज कुँवरसँग पराजित भएकी थिइन्। अहिलेका अध्यक्ष रणजित पोद्दार भने २०७९ सालको निर्वाचनमा निर्विरोध निर्वाचित भएका थिए। आगामी साता पोद्दारले पाण्डेलाई पद हस्तान्तरण गर्नेछन्।

महाधिवेशनमार्फत क्यान महासंघले नयाँ नेतृत्व चयन गर्नेछ। यसपटक अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदहरूका लागि प्रतिस्पर्धा हुने देखिएको छ। पुस १३ गते दिउँसो २ बजेपछि निर्वाचन प्रक्रिया सम्पन्न हुने र त्यसपछि कार्यसमिति चयन हुनेछ। महासंघको संरचना अनुसार, अध्यक्षसहित ३९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ।

सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि सक्रिय पाण्डे क्यान महासंघको पहिलो महिला उपाध्यक्ष पनि हुन्। हाल उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशकको रूपमा कार्यरत छन्।

क्यान महासंघले सूचना प्रविधि क्षेत्रको समृद्धि र विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। पाण्डेको नेतृत्वले संस्थालाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिकृया