गुगलले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नीतिहरू र जनचेतनामा प्रभाव पार्ने उद्देश्यले आफ्नो विश्वव्यापी अभियानलाई तीव्र पारेको छ। बिबिसीका अनुसार, एआईको क्षेत्रमा बिग टेक प्रतिस्पर्धीहरूजस्तै माइक्रोसफ्टद्वारा समर्थित ओपनएआई र मेटासँगको दौडमा अगाडि रहन, गुगलले एआई शिक्षामा ध्यान केन्द्रित गर्दै नयाँ कार्यक्रमहरू विस्तार गरिरहेको छ।
गुगलले हालै घोषणा गरेको $१२ करोडको लगानी कोषले एआई सम्बन्धी शैक्षिक कार्यक्रमहरू निर्माण गर्नेछ। यो कार्यक्रमले कर्मचारीहरूलाई एआईसँग जोडिएका दक्षताहरू प्रदान गरी रोजगारीका सम्भावनाहरू बढाउने लक्ष्य राखेको छ। गुगलका प्रमुख सुन्दर पिचाईको नेतृत्वमा कम्पनीले विशेष गरी “ग्रो विथ गुगल” नामक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै छ। यो कार्यक्रमले अनलाइन र प्रत्यक्ष माध्यमबाट डाटा विश्लेषण, आईटी सपोर्टजस्ता क्षेत्रमा तालिम दिन्छ।
कम्पनीका ग्लोबल अफेयर्स प्रमुख केन्ट वाकरका अनुसार, एआईको सही प्रयोगलाई अघि बढाउन र नीतिहरू तयार गर्न विभिन्न सरकारहरूसँग सहकार्य बढाउँदैछ। उनले भने, “एआईका उपकरणहरू बुझ्न र प्रयोग गर्न बढी मानिसहरूलाई सक्षम बनाउँदा राम्रो नीति बनाउन सहयोग पुग्छ र नयाँ अवसरहरू खुल्छन्।”
गुगलले हालै समुदाय कलेजहरूसँगको सहकार्यमा “स्किल्ड ट्रेड्स एन्ड रेडिनेस” कार्यक्रम सुरु गरेको छ। यसले डाटा सेन्टर निर्माणका लागि कामदारहरूलाई तालिम दिन्छ भने एआई शिक्षा पनि समेटेको छ। यस्तै, शिक्षकहरूलाई लक्षित गरेर एआईसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिनेछ।
तर, केवल पाठ्यक्रमले मात्र समाधान दिने नसक्ने वाकरको विश्वास छ। उनले भने, “उद्देश्यपूर्ण प्रमाणपत्र दिने प्रणाली तयार गर्न जरुरी छ, जसले रोजगारीका लागि सहायता प्रदान गर्न सक्छ।” यसै क्रममा गुगलले इकोनोमिस्ट डेभिड अटोरलाई एआईको श्रम बजारमा प्रभाव अध्ययन गर्न नियुक्त गरेको छ। अटोरका अनुसार, एआईले उन्नत तालिमका लागि नयाँ सम्भावना खोल्न सक्छ।
एआईसँग सम्बन्धित नीति निर्माणमा योगदान पुर्याउन गुगलका उच्च अधिकारीहरू विश्वभरि यात्रा गर्दै सरकारहरूलाई सिफारिस गरिरहेका छन्। साथै, कम्पनीले एआईबाट रोजगारीमा पर्ने प्रभावलाई व्यवस्थापन गर्न दीर्घकालीन योजनाहरू अघि सारिरहेको छ।