गूगलको नयाँ दावीः पाँच वर्षभित्र व्यावसायिक क्वान्टम कम्प्युटिङ सम्भव

पोखरा, २०८१/१०/२४ – गूगलले आगामी पाँच वर्षभित्र व्यावसायिक प्रयोगका लागि उपयुक्त क्वान्टम कम्प्युटिङ प्रणाली विकसित गर्ने लक्ष्य लिएको छ। गूगल क्वान्टम एआईका संस्थापक तथा प्रमुख हार्टमुट नेभेनका अनुसार कम्पनीले वास्तविक दुनियाँमा मात्र सम्भव हुने अनुप्रयोगहरू ल्याउने तयारी गरिरहेको छ।

गूगलका अनुसार क्वान्टम कम्प्युटिङको मद्दतले उत्कृष्ट ब्याट्री प्रविधि, औषधि निर्माण तथा ऊर्जा विकल्पहरू खोज्ने कार्यमा उल्लेखनीय प्रगति गर्न सकिन्छ। यस्तै, नयाँ प्रविधिले परम्परागत कम्प्युटरहरूको तुलनामा हजारौं गुणा बढी शक्ति दिने आशा गरिएको छ।

यस विषयमा प्रविधि क्षेत्रमा विभिन्न मतहरू छन्। एनभिडियाका प्रमुख जेनसेन हुआङले व्यावसायिक क्वान्टम कम्प्युटिङ अझै दुई दशक टाढा रहेको बताउँदै १५ देखि ३० वर्षको अवधिमा मात्र पूर्णरूपमा सम्भव हुने उल्लेख गरेका छन्। तर, गूगलले हालै प्रकाशित अनुसन्धानपत्रमा नयाँ प्रविधिले ठूलो फड्को मारेको दाबी गरेको छ।

विज्ञान पत्रिका ‘नेचर’ मा प्रकाशित अध्ययनअनुसार गूगलले क्वान्टम सिमुलेशनको नयाँ प्रविधि विकास गरेको छ, जसले व्यावसायिक अनुप्रयोगको बाटो खुला गर्नेछ। कम्पनीका वैज्ञानिकहरूले क्वान्टम प्रोसेसरको प्रयोगबाट केही कम्प्युटिङ समस्याहरू चाँडै समाधान गर्न सफल भएको बताएका छन्।

गूगल सन् २०१२ देखि क्वान्टम कम्प्युटिङमा काम गरिरहेको छ। डिसेम्बरमा कम्पनीले नयाँ चिप्सको सहायताले प्रमुख चुनौती समाधान गरेको घोषणा गर्दा यस प्रविधिले ठूलो चर्चा पाएको थियो। यद्यपि, केही विज्ञहरूले अझै पनि यस प्रविधि व्यावसायिक रूपमा उपयोगी बन्ने समयबारे निश्चित धारणा बनाएका छैनन्।

क्वान्टम कम्प्युटिङ प्रविधिको विकासले आधुनिक साइबर सुरक्षा, वित्तीय प्रणाली र स्वास्थ्य क्षेत्रलाई गहिरो रूपमा प्रभावित गर्ने आँकलन गरिएको छ। एआई प्रविधिको जस्तै, क्वान्टम कम्प्युटिङ पनि लामो समयदेखि अनुसन्धानकै चरणमा रहेको छ। तर, अब यसको व्यावसायिक भविष्य नजिकै रहेको गूगलको दाबी छ।

तपाईको प्रतिकृया