
डोनाल्ड ट्रम्पले आइतबारबाट लागु हुने टिकटोक प्रतिबन्धलाई ९० दिनको मोहलत दिने सम्भावना रहेको बताएका छन्। यस घोषणा उनले सोमबार आफू ४७औं अमेरिकी राष्ट्रपतिको रुपमा सपथ लिने दिनमा गर्ने बताएका छन्।
टिकटोकले भने प्रतिबन्ध लागू नहुने आश्वासन प्राप्त नभए आइतबारबाट प्लेटफर्म “गोप्य” हुने चेतावनी दिएको थियो। बिहीबार सर्वोच्च अदालतले चिनियाँ कम्पनी बाइटडान्सले १९ जनवरीभित्र टिकटोक बिक्री नगरे अमेरिकामा एप प्रतिबन्धित हुने कानूनलाई समर्थन गरेको थियो। बाइटडान्सले भने एप बिक्री गर्न अस्वीकार गरेको छ।
एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले ९० दिनको समयावधि दिने सम्भावना औंल्याउँदै भने, “यो ठुलो मुद्दा भएकाले यसलाई ध्यानपूर्वक हेरिनुपर्ने आवश्यकता छ। सम्भवतः म ९० दिनको समय दिनेछु।” उनले एबीसीसँगको अन्तर्वार्तामा पनि यसबारे यस्तै प्रतिक्रिया जनाए।
यसैबीच, टिकटोकले शुक्रबार ह्वाइट हाउस र न्याय विभागले स्पष्ट निर्देशन र आश्वासन प्रदान गर्न नसकेको बताएको छ। तर, ह्वाइट हाउसकी प्रेस सचिव करिन जीन-पियरेले यो चेतावनीलाई “राजनीतिक स्टन्ट” को रूपमा व्याख्या गर्दै भने, “प्रतिबन्ध कार्यान्वयन अर्को प्रशासनको जिम्मेवारी हो। टिकटोकले आफ्नो चासो नयाँ प्रशासनसँग राख्नुपर्छ।”
चिनियाँ दूतावासले यसलाई अनुचित दबाब भन्दै चीनका वैध अधिकार र हितलाई जोगाउन सबै आवश्यक कदम उठाइने बताएको छ।
अमेरिकामा टिकटोकका १७ करोड प्रयोगकर्ता रहेका छन्। राजनीतिक अभियानका लागि यो एपले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। ट्रम्पले पनि आफ्नो चुनावी अभियानमा टिकटोकबाट अर्बौं दृश्य प्राप्त गरेको बताए।
प्रतिबन्ध लागू भएपछि एप स्टोरबाट टिकटोक हटाइने र अमेरिकामा यसको पहुँच अवरुद्ध हुने सम्भावना छ। यसले साना व्यवसाय र सामग्री निर्माता प्रभावित हुने छन्।
स्मरणीय छ, भारतले २०२० मा टिकटोकलाई प्रतिबन्ध लगाएको थियो। त्यसपछि गुगल र एप्पलले आफ्नो एप स्टोरबाट टिकटोक हटाए। भारतमा प्रतिबन्धपछि इन्स्टाग्राम र युट्युबका छोटो भिडियो प्लेटफर्मले ठूलो फाइदा उठाएका थिए।
स्रोतः बीबीसी