
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र सरकारी दक्षता विभाग (डज) का प्रमुख इलन मस्कविरुद्ध अमेरिकाभर जनआन्दोलनजस्तो विरोध प्रदर्शन भएको छ। ‘ह्याण्डस् अफ’ शीर्षकमा मनाइएको अन्तर्राष्ट्रिय विरोध दिवसको अवसरमा अमेरिकाका ५० वटै राज्यमा लाखौं नागरिक सडकमा उत्रिएका हुन्।
ट्रम्प प्रशासनले संघीय निकायहरूमा गरिरहेको हस्तक्षेप, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र आप्रवासन नीति तथा मानव अधिकार सम्बन्धी कटौतिका विरोधमा देशव्यापी प्रदर्शन गरिएको हो। मस्कमाथि व्यक्तिगत डेटा निगरानी र सरकारी शक्ति कब्जाको आरोप पनि प्रदर्शनको केन्द्रीय विषय बनेको थियो।
प्रदर्शनमा सहभागीमध्ये ६ लाखभन्दा बढीले औपचारिक हस्ताक्षर गरेर आफ्नो समर्थन जनाएका छन्। नागरिक अधिकारकर्मी, श्रमिक संगठन, अधिवक्ता, पूर्वसैनिक, निर्वाचन अभियानकर्मी लगायत १५० भन्दा बढी सामाजिक समूहको सहकार्यमा यो विरोध प्रदर्शन आयोजना गरिएको थियो।
अमेरिकाका १२०० भन्दा बढी स्थानहरूमा आयोजित प्रदर्शनमा राष्ट्रपति ट्रम्प र अर्बपति इलन मस्कको कार्यशैलीको आलोचना गरियो। प्रदर्शनकारीहरूले संघीय कर्मचारीको अवाञ्छित बर्खास्तगी, सामाजिक सुरक्षा कार्यालयहरूको बन्द, स्वास्थ्य सेवामा अनुदान कटौती, आप्रवासीप्रति कठोर नीति र तेस्रोलिंगी अधिकारमा हस्तक्षेपको विरोध गरे।
राजधानी वासिङ्टन डिसीको नेसनल मलमा आयोजित प्रमुख विरोध प्रदर्शनमा सहभागि नागरिकहरूले ‘हे हो, ट्रम्पस् गोट गो’, ‘प्रोटेक्ट योर कन्स्टिच्युसन’, र ‘ह्यान्डस् अफ योर राइट्स’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए।
मेरिल्याण्डका डेमोक्र्याटिक सांसद जेमी रस्किनले राष्ट्रपतिको कार्यशैलीलाई फासीवादी राजनीति र अव्यवस्थित अर्थनीतिको मिश्रण बताए। मिनेसोटाका प्रतिनिधि इल्हान ओमारले सबै नागरिकका लागि सुरक्षित भविष्य सुनिश्चित गर्न दीर्घकालीन योजनाहरू आवश्यक भएको उल्लेख गरे।
फ्लोरिडाका सांसद म्याक्सवेल फ्रस्टले सत्तामा रहेका व्यक्तिहरू सधैं सन्तुष्ट नहुने, उनीहरू कानुनको सीमा परीक्षण गर्ने चेतावनी दिए। उनले ट्रम्पको ध्यान जनताका आवाजतर्फ खिच्न यस्ता विरोध आवश्यक रहेको बताए।
संघीय कर्मचारीहरूको महासंघ ‘नेसनल फेडरेसन अफ फेडरल इम्प्लोइज’ का अध्यक्ष रेन्डी इरविनले कुनै गल्ती नगरेका कर्मचारीहरूलाई बिनाकारण बर्खास्त गर्नु क्रूर मजाक भएको टिप्पणी गरे। त्यस्तै, पूर्वसैनिक एवरेट केलीले नागरिक अधिकारका पक्षमा लडिरहने प्रतिवद्धता जनाउँदै आफूहरू चुप लाग्ने पक्षमा नरहेको बताए।
सिएनएनका अनुसार हालसम्म ट्रम्प प्रशासनको नीति अन्तर्गत एक लाख २१ हजारभन्दा बढी संघीय कर्मचारीहरू बर्खास्त भइसकेका छन्। प्रदर्शनकारीहरूले राज्यशक्ति अर्बपतिहरूको कब्जाबाट मुक्त गरिनुपर्ने, सबैका लागि स्वास्थ्य बीमाको व्यवस्था गरिनुपर्ने र सामाजिक सुरक्षाको ग्यारेन्टी सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनलाई अघि बढाएका थिए।