
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्रलाई सशक्त बनाउने सरकारको लक्ष्य रहेको बताएका छन्। उनले पूर्वाधार निर्माण र नीतिगत सुधारमार्फत आइटी क्षेत्रको विस्तारमा मन्त्रालयले विशेष ध्यान दिइरहेको जानकारी गराए।
नेपाल चेम्बर अफ कमर्सद्वारा भृकुटिमण्डपमा आयोजित ‘८औँ नेपाल चेम्बर एक्स्पो २०२५’ को उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालमा आइटी क्षेत्रलाई मजबुत बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले नेशनल पार्क, आइटी पार्क लगायतका पूर्वाधार निर्माणको कार्य यही वर्षभित्र सम्पन्न गरिने उल्लेख गरे।
सरकारको नीति र पूर्वाधारमा जोड
मन्त्री गुरुङका अनुसार सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत तथा पूर्वाधार निर्माणमा सक्रियताका साथ कार्यरत छ। उनले डिजिटल नेपाल अभियानलाई तीव्र रूपमा अघि बढाउने लक्ष्य सरकारको रहेको बताए। यस अभियानलाई प्रभावकारी बनाउन विभिन्न रणनीतिक योजनाहरू बनाइरहेको समेत उनले उल्लेख गरे।
“हामी नीतिगत तथा भौतिक पूर्वाधार दुवै क्षेत्रमा समान रूपमा ध्यान दिइरहेका छौं,” उनले भने, “आइटी क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ।” उनका अनुसार सरकारले ल्याएको नयाँ अध्यादेशले व्यवसायीलाई प्रोत्साहन गर्नेछ र मुलुकको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ।
एआई नीति निर्माण प्रक्रियामा
सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकासका लागि सरकार एआई (कृत्रिम बुद्धिमत्ता) नीतिको मस्यौदा निर्माणमा रहेको मन्त्री गुरुङले जानकारी दिए। उनले नेपालमा आइटी क्षेत्रको प्रभाव बढ्दै गएको उल्लेख गर्दै यस क्षेत्रबाटै रोजगारी सुनिश्चित गर्न सकिने आधार निर्माण गर्न सरकार लागिपरेको बताए।
उनले सरकारले सूचना प्रविधि क्षेत्रको योगदान अर्थतन्त्रमा पाँच प्रतिशत पुर्याउने दीर्घकालीन लक्ष्य राखेको उल्लेख गर्दै व्यवसायी र प्रविधि विज्ञहरूलाई समेत सहकार्यका लागि आह्वान गरे।