
नेपालमा डेंगु संक्रमणको जोखिम पुनः बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार, सन् २०२५ को जनवरी महिनादेखि हालसम्म ५७ जिल्लाका ८०० भन्दा बढी व्यक्ति डेंगु भाइरसबाट संक्रमित भएका छन्। काठमाडौं, भक्तपुर र ललितपुर जस्ता मुख्य सहरहरूमा समेत संक्रमण देखिएको छ।
नेपालमा डेंगु भाइरस वर्षभरि नै फैलने भएकोले यसलाई महामारी नभई स्थानिक (एन्डेमिक) रोगका रूपमा लिइन्छ। “डेंगु अब नेपालमा एन्डेमिक भइसकेकोले हामी यसलाई प्रकोप भन्दैनौं, तर जोखिम बढेकाले सम्बन्धित निकायहरूलाई सतर्क गराइएको छ,” महाशाखाका भेक्टर नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।
पछिल्लो तथ्यांक अनुसार, पुस महिनामा १,३२३ र माघ महिनामा ८५३ जना नयाँ संक्रमित भेटिएका छन्। तीमध्ये १५१ जनालाई अस्पताल भर्ना गर्नु परेको र ६ जनामा गम्भीर संक्रमण देखिएको छ। डेंगु फैलाउने एडीज एजिप्टाइ र एडीज एल्बोपिक्टस जातका लामखुट्टेहरू सफा पानीमा बास बस्ने भएकाले खुल्ला पानीका ट्यांकी, फोहोर प्लास्टिकका बट्टा र अन्य स्थानहरू संक्रमणका मुख्य स्रोत बन्ने गरेका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार, अहिलेको मौसममा बढ्दो तापक्रम र प्रि-मनसुन वर्षाले डेंगु फैलाउने लामखुट्टेहरूको प्रजननका लागि अनुकूल वातावरण तयार भएको छ। यसै कारण, स्थानीय तहहरूलाई खोजी तथा नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, उपचार सेवा प्रभावकारी बनाउन र अस्पतालहरूमा सम्भावित चाप नियन्त्रण गर्न तयारी बढाउन सुझाव दिइएको छ।
डेंगुको कुनै विशेष उपचार नभएकाले लक्षण देखिएमा समयमा चिकित्सकीय परामर्श लिनु आवश्यक हुन्छ। उच्च ज्वरो, मांसपेशी दुख्ने, आँखामा पीडा, र शरीरमा र्यास देखिनु डेंगुका मुख्य लक्षणहरू हुन्।
नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा एक विदेशी नागरिकमा डेंगु भेटिएको थियो। त्यसयता डेंगुको संक्रमण र ठूला प्रकोपहरू देशभर बढ्दो क्रममा छन्।
स्वास्थ्य अधिकारीहरूले आम नागरिकलाई सचेत बन्न र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। समयमै सतर्कता अपनाइएन भने डेंगुको जोखिम अझ बढ्न सक्ने चेतावनी दिइएको छ।