ताराहरूलाई सवारी साधनको रूपमा उपयोग गर्ने एलियन सभ्यताको अनौठो सिद्धान्त

ब्रह्माण्डीय यात्रा र उन्नत सभ्यताबारे अनगिन्ती कल्पनाहरू गरिँदै आएको छ। हालै बेल्जियमको व्रीजे युनिवर्सिटी ब्रुसेलका दार्शनिक क्लेमेन्ट भिडालले एउटा अनौठो र चमत्कारिक सिद्धान्त प्रस्तुत गरेका छन्। यो सिद्धान्तअनुसार एलियन सभ्यताहरूले ताराहरूलाई सवारी साधनको रूपमा प्रयोग गरेर एक आकाशगंगाबाट अर्को आकाशगंगामा यात्रा गर्न सक्छन्।

भिडालको यो सिद्धान्तले ब्रह्माण्डीय दूरी घटाउन तारा प्रणालीको प्रयोगबारे चर्चा गर्दछ। ब्रह्माण्डीय दूरी लाखौं प्रकाशवर्षको हुने भएकाले यस्तो प्रणालीले यात्रा समयलाई निकै कम गर्न सक्छ। भिडालका अनुसार, धेरैजसो ताराहरू बाइनरी प्रणालीमा रहेका छन्। यी बाइनरी प्रणालीका ताराहरू एकअर्कासँग सम्बन्धित हुँदा, ती तारा प्रणालीलाई नियन्त्रण गरेर गन्तव्यसम्म पुर्‍याउन सकिन्छ। यो सिद्धान्तलाई भिडालले “द स्पाइडर स्टेलर इन्जिन: अ फुल्ली स्टीरेबल एक्स्ट्राटेरेस्ट्रियल डिजाइन?” नामक पेपरमा प्रस्तुत गरेका छन्।

यस प्रकारको प्रयोगका लागि न्युट्रोन ताराजस्ता अत्यन्तै गुरुत्वाकर्षण शक्ति भएका ताराहरू उपयोगी ठहरिने भिडालले बताएका छन्। न्युट्रोन ताराको चुम्बकीय क्षेत्र वा सतहलाई विषम रूपमा तताएर त्यसलाई एकै दिशामा सामग्री फ्याँक्न प्रयोग गर्न सकिन्छ। यस्तो प्रक्रिया गर्दा उत्पन्न हुने बलले तारा प्रणालीलाई गन्तव्यतर्फ धकेल्न सक्ने भिडालको दाबी छ।

यद्यपि, यो सिद्धान्त पूर्णतया काल्पनिक मानिन्छ र यसलाई वैज्ञानिक प्रमाणको अभाव छ। भिडालले प्रस्तुत गरेको यो विचार हालसालै ब्रिटिश इन्टरप्लेनेटरी सोसाइटीको जर्नलमा प्रकाशित भएको छ।

खगोलविद्हरूले यसअघिनै हाइपर भेलोसिटी भएका ताराहरूको पहिचान गरेका छन्। तीमध्ये केही ताराहरू, जस्तै पीएसआर जे०६१०-२१०० र पीएसआर जे२०४३-१७११, अत्यधिक गतिमा घुम्ने गर्दछन्। भिडालले यी उदाहरणहरूलाई प्राकृतिक घटना मानिए पनि थप अनुसन्धानको खाँचो रहेको औंल्याएका छन्।

एलियन सभ्यताहरूले यस प्रकारको प्रविधि प्रयोग गरेर तारा प्रणालीलाई सवारी साधनको रूपमा उपयोग गरिरहेको हुनसक्छ भन्ने विचारले ब्रह्माण्डबारेको हाम्रो बुझाइलाई अझ चमत्कारी बनाउँछ।

तपाईको प्रतिकृया