
त्रिभुवन विश्वविद्यालय (त्रिवि) काे परीक्षा नियन्त्रक कार्यालयले २०८२ बैशाख २ गतेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट का लागि अनलाइन आवेदन प्रणाली सुरु गरेको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार, ११ बजेदेखि उक्त सेवाका लागि अनलाइन फाराम उपलब्ध भएको छ।
यस कदमले विद्यार्थीहरूलाई थप सहजता र समयको बचत गर्न मद्धत पुर्याउने छ। यसअघि, विद्यार्थीहरूले यी सेवा प्राप्त गर्न परीक्षा नियन्त्रण कार्यालयको चक्कर काट्नु पर्ने अवस्था थियो। जोशीले भने, “अनलाइन सेवाबाट विद्यार्थीहरूलाई कार्यालय जानुपर्ने झन्झटबाट मुक्त गर्नका लागि यो कदम चालिएको हो।”
पछिल्लो वर्ष अनलाइन सेवा सञ्चालनको घोषणा गरिएको भए पनि वेबसाइटमा भएको सुरक्षा गडबडीका कारण सेवा अवरुद्ध भएको थियो। अहिले त्यस समस्या समाधान भएपछि सेवा पुनः सुरु गर्न सकिने भएको हो। परीक्षा नियन्त्रक कार्यालयले यसका लागि सुरक्षा प्रोटोकललाई मजबुत बनाएको छ र अनलाइन सेवा स्थिर बनाइएको छ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी जेठ १५ देखि परीक्षासम्बन्धी सबै सेवाहरू अनलाइनबाट उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले विद्यार्थीहरूलाई समग्र सेवा प्रणालीको अधिकतम पहुँच र सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ। यसबाहेक, क्याम्पसहरूबाट लब्धाङ्क पत्र प्रिन्ट गर्ने व्यवस्था र उत्तरपुस्तिका परीक्षण पनि क्षेत्रीय कार्यालयहरूमा सुरु भइसकेको छ।
नयाँ अनलाइन प्रणालीको माध्यमबाट विद्यार्थीहरूले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट चाँडै प्राप्त गर्न सक्नेछन्।
