दक्षिण कोरियामा विमान दुर्घटना, १७९ को मृत्यु

दक्षिण कोरियाको मोआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको एक दर्दनाक विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको छ। बिबिसीका अनुसार, थाइल्याण्डको बैंककबाट फर्किंदै गरेको जेजु एयरको बोइङ ७३७–८०० विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि आगो लागेको थियो।

विमानमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए। यात्रुहरूमध्ये दुई जना थाइ नागरिक र अन्य सबै दक्षिण कोरियाली थिए। यो दुर्घटनामा दुई चालक दलका सदस्यहरू जीवित फेला परेका छन्। उद्धारकर्ताहरूले पहिलो जीवित व्यक्तिलाई बिहान ९:२३ मा विमानको भग्नावशेषबाट निकालेर अस्पताल पुर्‍याएका थिए।

दुर्घटना बिहान ८:५९ मा पाइलटले “मेडे, मेडे, मेडे” भन्दै चरासँग ठोक्किएको जानकारी दिएपछि सुरु भएको थियो। विमानले आकस्मिक अवतरण गर्न खोज्दा रनवेमा अवतरण गियर नखुलेको देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

आगो लागेपछि विमानका केही भाग ध्वस्त भइसकेका थिए। उद्धारकर्मीहरूले ठूलो प्रयासपछि आगो निभाएका थिए। घटनास्थलका प्रत्यक्षदर्शीहरूले “भयावह आवाज र श्रृंखलाबद्ध विस्फोट” सुनेको बताए।

यो दुर्घटनामा, पाँच जना बालबालिकासहित १७९ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। बिबिसीका अनुसार, परिवारका सदस्यहरूले डीएनए परीक्षणमार्फत आफ्ना आफन्तको शव पहिचान गर्न सहयोग गरिरहेका छन्।

दक्षिण कोरियाली अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन्। प्रारम्भिक अनुसन्धानले खराब मौसम र चरासँग ठोक्किनु सम्भावित कारण हुनसक्ने बताए पनि ठोस प्रमाण अझै फेला परेको छैन। बिबिसीका अनुसार, विमानका ब्ल्याक बक्सहरू उद्धार गरिएका छन् तर तीमध्ये एक क्षतिग्रस्त अवस्थामा छ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोले सात दिने राष्ट्रिय शोकको घोषणा गर्दै देशका सबै विमानस्थलहरूमा आकस्मिक सुरक्षा निरीक्षण गर्न निर्देशन दिएका छन्।

यो दुर्घटना दक्षिण कोरियाको माटोमा भएको सबैभन्दा घातक विमान दुर्घटना हो। यसले जेजु एयरको सुरक्षित उड्डयन रेकर्डमा ठूलो दाग लागेको छ।

स्रोतः बिबिसी

तपाईको प्रतिकृया