वीरगञ्ज। नारायणी अस्पतालका बिग्रिएका औजार तथा उपकरणको मर्मतसम्भार राष्ट्रिय आविष्कार केन्द्रले गर्ने भएको छ। यस सम्बन्धमा नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमललाल दास र राष्ट्रिय आविष्कार केन्द्रका बायोमेडिकल चिफ उमेश किरातबीच सम्झौता भएको छ।
सम्झौताअनुसार केन्द्रले अस्पतालमा रहेका उपकरणहरूको अध्ययन गरेर तत्कालै मर्मतसम्भार कार्य सुरु गर्नेछ। अस्पतालका अनुसार, त्यहाँ करिब डेढसय औजार तथा उपकरण छन्। मेसु दासका अनुसार, पहिलो प्राथमिकतामा तत्काल मर्मत गर्न सकिने उपकरण राखिनेछ, जसले अस्पतालका सेवाहरू छिटो पुनः सञ्चालनमा ल्याउन सहयोग पुर्याउनेछ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले यस सहकार्यले चिकित्सा उपकरणहरूको समयमै मर्मत सम्भार सुनिश्चित गर्दै अस्पतालको सेवा गुणस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले केन्द्रले उपकरण मर्मतका लागि आवश्यक प्राविधिक सहयोग र तालिम प्रदान गर्ने जानकारी दिए।
सम्झौताले नारायणी अस्पतालमा रहेको उपकरणहरूको दीर्घकालीन व्यवस्थापनका लागि आधारशिला तयार पार्ने र जनताले सहज रूपमा गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। अस्पतालमा उपकरण बिग्रिएका कारण प्रभावित स्वास्थ्य सेवा अब सहज रूपमा सञ्चालन हुने विश्वास लिइएको छ।
राष्ट्रिय आविष्कार केन्द्रको यो प्रयासले अस्पताललाई उपकरणहरूको समयमै मर्मत सम्भार गर्न प्राविधिक दक्षता प्रदान गर्नुका साथै जनताको स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।