नेपालको उज्ज्वल भविष्यका लागि प्राविधिक शिक्षा अनिवार्य : महासचिव पोखरेल

नेपाललाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षाको विकास अनिवार्य रहेको नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरिरहेको तुलसीपुर मेट्रो कलेजमा मंगलबार सभाहल शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

महासचिव पोखरेलले वर्तमान शिक्षामा व्यवहारिकता अभाव रहेको उल्लेख गर्दै सीपमूलक तथा प्राविधिक शिक्षालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले सरकारी तथा निजी शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताउँदै यसले शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। प्राविधिक शिक्षामा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएकाले यसलाई स्वरोजगारमूलक बनाउनुपर्ने उनको भनाइ थियो।

सभाहल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए। उनका अनुसार उक्त सभाहल विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि अत्यन्त लाभदायक हुनेछ।

कार्यक्रममा मेट्रो कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले शिक्षालाई व्यावहारिक बनाउन प्रयोगात्मक अभ्यास अनिवार्य रहेको बताउँदै बृहत् सभाहलको निर्माण थालिएको जानकारी दिए। तुलसीपुर नगर प्रमुख तथा कलेज सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काले स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा आवश्यक संरचना निर्माण भइरहेको बताए।

प्राविधिक शिक्षाको प्रवर्द्धनमार्फत नेपाललाई आत्मनिर्भर बनाउन सकिने महासचिव पोखरेलको भनाइ छ। यस उद्देश्यलाई सफल पार्न सरकारी तथा निजी क्षेत्रको सहकार्य अपरिहार्य हुने उल्लेख गर्दै उनले आवश्यक नीति निर्माणमा सरकार प्रतिबद्ध रहने धारणा व्यक्त गरे।

तपाईको प्रतिकृया