नेपालमा विद्युतीय चुलोको आयातमा नयाँ रेकर्ड: ३० करोड पुग्यो

नेपालमा विद्युतीय चुलोको आयातमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म ३० करोड २३ लाख ७० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरू आयात भएका छन्। यो अघिल्लो महिना अर्थात् पौष मसान्तसम्म २६ करोड १२ लाख ४६ हजार रुपैयाँ थियो। एक महिनाभित्र मात्र ३ करोड ७७ लाख ५८ हजार रुपैयाँ वृद्धि भई आयात रकम ३० करोड नाघेको हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पौष मसान्तसम्म नेपालले विभिन्न ११ देशहरूबाट १ लाख ५२ हजार ५६० थान विद्युतीय चुलो आयात गरेको छ। आयात भएका यी चुलोहरू इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकृत गरिएका छन्।

विद्युतीय चुलो आयातवापत सरकारले ४ करोड ३१ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यी चुलोहरूमध्ये सबैभन्दा बढी चीन र भारतबाट आयात भएको छ। चीनबाट १ लाख २९ हजार ८२६ थान चुलो आयात भई २६ करोड १७ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ। त्यस्तै, भारतबाट २२ हजार ३५१ थान चुलो भित्र्याइँदा ३ करोड ९९ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ।

अन्य देशहरूबाट आयात भएको परिमाण तुलनात्मक रूपमा कम रहेको छ। कतारबाट २६ थान चुलो आयात भई २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सिंगापुरबाट २४ थान चुलो १६ हजार रुपैयाँमा, बंगलादेशबाट ३३० थान चुलो ५ लाख ८१ हजार रुपैयाँमा, मलेसियाबाट ७ थान चुलो ३४ हजार रुपैयाँमा, यूएईबाट ११ थान चुलो २६ हजार रुपैयाँमा, इजरायलबाट १ थान चुलो १ हजार रुपैयाँमा, बेलायतबाट २ थान चुलो २ हजार रुपैयाँमा, जर्मनीबाट १ थान चुलो ७ हजार रुपैयाँमा तथा इटलीबाट १ थान चुलो ९ हजार रुपैयाँमा आयात भएको छ।

नेपालमा बढ्दो विद्युतीय चुलोको मागलाई मध्यनजर गर्दै यसको आयातमा वृद्धि भएको देखिन्छ। खासगरी, स्वच्छ ऊर्जा प्रवर्द्धन र ग्यासको विकल्पको खोजीले पनि यसमा टेवा पु-याएको अनुमान गरिएको छ।

तपाईको प्रतिकृया