फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा कम्युनिटी नोट्स, मेटाको नयाँ पहल

Image Source: Meta

बिबिसीका अनुसार, मेटाले आगामी मार्च १८ देखि अमेरिका भित्र फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा “कम्युनिटी नोट्स” सञ्चालन गर्ने घोषणा गरेको छ। यो नयाँ प्रणालीले तेस्रो-पक्षीय तथ्य-जाँच कार्यक्रमलाई प्रतिस्थापन गर्नेछ। मेटाका अनुसार, यस प्रणालीले तथ्य-जाँचलाई कम पूर्वाग्रही बनाउने र अधिक व्यापक बनाउने लक्ष्य राखेको छ।

कम्युनिटी नोट्सको अवधारणा पहिले नै ट्विटर (हालको एक्स) मा सफलतापूर्वक लागू भइसकेको थियो, जसको आधारमा मेटाले पनि आफ्नो नयाँ प्रणाली निर्माण गर्न लागेको हो। मेटाका प्रवक्ताले भनेका छन्, “हामी यसलाई नयाँ रूपमा निर्माण गरिरहेका छैनौं; एक्सको खुला स्रोत एल्गोरिदमलाई उपयोग गरेर अगाडि बढ्दै छौँ।”

मेटाले यो कार्यक्रम सुरुमा अमेरिका भित्र सीमित रूपमा लागू गर्नेछ, जहाँ २००,००० भन्दा बढी योगदानकर्ताहरूलाई सामेल गराइनेछ। साथै, इच्छुक प्रयोगकर्ताहरूका लागि वेटलिस्ट पनि खुला रहनेछ। यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले कम्तीमा १८ वर्ष उमेर पूरा गरिसकेको हुनुपर्नेछ।

कम्युनिटी नोट्सको मूल उद्देश्य कुनै पनि पोस्टलाई आवश्यक स्पष्टता प्रदान गर्नु हो, जसले गलत जानकारी वा भ्रमपूर्ण विवरणलाई कम गर्न मद्दत गर्छ। प्रयोगकर्ताहरू आफैंले पोस्टहरूको समीक्षा गर्ने, त्यसमा आवश्यक जानकारी थप्ने र अन्य प्रयोगकर्ताले ती नोट्सको वैधता मूल्यांकन गर्ने व्यवस्था रहेको छ। यसले गर्दा, कुनै पनि सूचना पूर्वाग्रही नरहेको सुनिश्चित गर्न सकिने मेटाले जनाएको छ।

मेटाले कम्युनिटी नोट्स कार्यक्रमका लागि अंग्रेजी, स्पेनिश, चिनियाँ, भियतनामी, फ्रेन्च र पोर्चुगाली भाषामा समर्थन उपलब्ध गराउनेछ। प्रत्येक नोट अधिकतम ५०० क्यारेक्टरको हुनेछ, जसमा स्रोत लिङ्क राख्न आवश्यक छ। मेटाले अझै पनि निर्णय गर्ने अधिकार प्रयोगकर्ताहरूलाई नै दिने बताएको छ, तर कुनै पनि नोट सार्वजनिक हुनुअघि विभिन्न दृष्टिकोण भएका प्रयोगकर्ताहरूबाट सहमति प्राप्त गर्नुपर्नेछ।

यस नयाँ प्रणालीको कार्यान्वयनसँगै, सामाजिक सञ्जालमा गलत सूचना नियन्त्रणका लागि समुदायमै आधारित विधि प्रभावकारी बन्न सक्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिकृया