
बेलायतका प्रधानमन्त्री केइर स्टर्मरले देशलाई कृत्रिम बुद्धिमत्ताको (एआई) क्षेत्रमा विश्व नेता बनाउन विशेष योजना ल्याउने घोषणा गर्नुभएको छ। प्रधानमन्त्रीले सोमबार लण्डनमा हुने आफ्नो सम्बोधनमा एआई प्रविधिलाई अर्थतन्त्रको बृद्धिका लागि केन्द्रमा राख्ने बताउनुहुनेछ। उहाँले विशेष डाटा केन्द्रहरू निर्माणका लागि छुट्टै क्षेत्र तोक्ने र प्रविधिमा आधारित कोर्सहरू अध्ययन गर्न विद्यार्थीलाई प्रोत्साहन दिने योजना सार्वजनिक गर्नुहुनेछ।
प्रधानमन्त्री स्टर्मरले भनेका छन्, “हाम्रो योजनाले बेलायतलाई एआई क्षेत्रमा विश्वको नेतृत्वदायी देश बनाउनेछ। यसको अर्थ थप रोजगारी, लगानी र नागरिकहरूको आयमा बृद्धि हुनेछ।” सरकारको दाबी अनुसार एआईलाई पूर्ण रूपमा अवलम्बन गरेमा उत्पादनशीलता वार्षिक रूपमा १.५ प्रतिशतले वृद्धि हुने र आगामी १० वर्षमा यसले ४७ अर्ब पाउन्ड (५७ अर्ब डलर) बराबरको आर्थिक लाभ पुर्याउनेछ।
सरकारले भेन्चर क्यापिटलिस्ट म्याट क्लिफर्डको प्रतिवेदन “एआई अपर्च्युनिटिज एक्सन प्लान” का ५० वटै सिफारिसहरू लागू गर्ने घोषणा गरेको छ। यसमा डाटा केन्द्र निर्माणका लागि योजनाबद्ध अनुमति प्रक्रियालाई तीव्रता दिनु र ऊर्जासम्बन्धी सहज पहुँच उपलब्ध गराउनु पर्ने प्रावधानहरू छन्। पहिलो यस्तो केन्द्र अक्सफोर्डशायरको कुल्हाममा, बेलायतको परमाणु ऊर्जा प्राधिकरणको मुख्यालयमा निर्माण गरिनेछ।
स्टर्मरले एआईले मानवीय जीवनलाई कसरी परिवर्तन गर्न सक्छ भन्नेमा विशेष जोड दिँदै विद्यालयका शिक्षकहरूको प्रशासनिक कार्यभार कम गर्नेदेखि साना व्यवसायलाई सहयोग पुर्याउने र योजना निर्माण प्रक्रियालाई छिटो बनाउने कुरा उल्लेख गर्नुहुनेछ। उहाँले थप्नुभएको छ, “कडा प्रतिस्पर्धाको यो संसारमा हामी किनारा लागेर बस्न सक्दैनौं। छिटो अघि बढ्न र कदम चाल्न आवश्यक छ।”
बेलायत अहिले एआई बजारमा अमेरिका र चीनपछि तेस्रो स्थानमा रहेको छ। स्ट्यानफोर्ड विश्वविद्यालयको प्रतिवेदनअनुसार लगानी र पेटेन्टजस्ता सूचकहरूका आधारमा यो स्थान कायम गरिएको हो। तर, सन् १९९३ यताकै उच्च करदाताको बजेट ल्याउने निर्णय र पछिल्लो त्रैमासिकमा अर्थतन्त्र स्थिर रहेको बैंक अफ इङ्ग्ल्यान्डको विश्लेषणले व्यवसायमा विश्वास घटाएको देखिन्छ।
विश्वभरि नै देशहरू एआईको केन्द्र बन्न प्रतिस्पर्धा गरिरहेका बेला बेलायतले यो योजनालाई नयाँ सम्भावनाको ढोका खोल्न महत्वपूर्ण मानिएको छ।
स्रोत: बिबिसी।