ब्ल्याक होल अनुसन्धानमा कक्षीय स्याटेलाइटको नयाँ आयाम

दक्षिण कोरियाका वैज्ञानिकहरूले ब्ल्याक होलको रहस्यलाई थप उजागर गर्न कक्षीय स्याटेलाइटहरूको नयाँ समूह निर्माणको तयारी गरिरहेका छन्। क्यापेला परियोजना नाम दिइएको यो योजना, सोल नेशनल युनिभर्सिटीका खगोलशास्त्रका प्राध्यापक साशा ट्रिप्पेको परिकल्पना हो।

ब्ल्याक होल अध्ययनको प्रविधिमा सीमितताबाट निराश भएका ट्रिप्पे र उनकी टोलीले पृथ्वीमा आधारित वर्तमान उपकरणहरूको कमीकमजोरीलाई सम्बोधन गर्ने उद्देश्यले यो महत्वाकांक्षी योजना अघि सारेका हुन्।

ब्ल्याक होल अनुसन्धानको चुनौतीहरू

सन् २०१९ मा मेसियर ८७ आकाशगङ्गाको केन्द्रमा रहेको सुपरम्यासिभ ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक हुँदा संसारभर चासोको विषय बनेको थियो। तर यो तस्बिर रेजोल्युसनको सीमितताका कारण अपूर्ण थियो। इभेन्ट होराइजन टेलिस्कोप (ईएचटी) ले यस तस्बिरलाई सम्भव बनाएको भए पनि, यसले ब्ल्याक होलको पूर्ण संरचना प्रदर्शन गर्न असक्षम रहेको ट्रिप्पेले बताए।

ईएचटीले “भेरी लङ बेसलाइन इन्टरफेरोमेट्री” प्रविधिको प्रयोग गरेर तस्बिर बनाउँछ, तर पृथ्वीको वातावरणले उच्च फ्रिक्वेन्सीका रेडियो तरंगहरूलाई सोस्ने हुँदा यो प्रविधि सीमित देखिएको छ। यसले ब्ल्याक होलबाट उत्पन्न हुने सापेक्षतावादी जेटजस्ता संरचनाहरू स्पष्ट रूपमा देखाउन असमर्थ बनाएको हो।

क्यापेला परियोजनाको सम्भावना

ट्रिप्पेले प्रस्ताव गरेको क्यापेला परियोजनामा चार वटा स्याटेलाइटहरू समावेश हुनेछन्, जसले ४५०–६०० किलोमिटर उचाइमा पृथ्वीको परिक्रमा गर्नेछन्। यी स्याटेलाइटहरूले कक्षाबाट उच्च फ्रिक्वेन्सीका रेडियो तरंगहरूको अध्ययन गर्न सक्षम हुनेछन्, जसले पृथ्वी-आधारित ईएचटीले प्राप्त गर्न नसक्ने गुणस्तर र रेजोल्युसन प्रदान गर्नेछ।

स्पेस डटकमका अनुसार, क्यापेला प्रणालीले दिनमा धेरै पटक पृथ्वीको परिक्रमा गर्दै कुनै पनि खाली स्थान नराख्ने खालको व्यापक डाटा संकलन गर्नेछ। यो प्रणालीले ब्ल्याक होलको घटना क्षितिजको नजिकका प्रक्रियाहरू अध्ययन गर्न नयाँ ढोका खोल्नेछ।

नयाँ युगको सुरुवात

क्यापेला परियोजना सफल भएमा, वैज्ञानिकहरूले मेसियर ८७ र अन्य आकाशगङ्गाका ब्ल्याक होलहरूको संरचनालाई अझ राम्रोसँग बुझ्न सक्नेछन्। यसले ब्ल्याक होल वरपरका चम्किला घेराहरूभित्रको गहिरो प्रक्रिया र तिनको पिण्डको सटीक अनुमान गर्न सहायता पुर्‍याउनेछ।

यो परियोजनाको अनुमानित लागत ५०० मिलियन डलरभन्दा कम हुने बताइएको छ। दक्षिण कोरियाको कोरिया एरोस्पेस एडमिनिस्ट्रेशनले यस परियोजनामा चासो देखाएको छ र आर्थिक सहयोगबारे निर्णय लिन २०२५ सम्ममा तयारी गर्नेछ। यदि सबै योजना सफल भएमा, क्यापेला प्रणालीले सन् २०३० सम्म ब्ल्याक होल अध्ययनमा नयाँ युगको सुरुवात गर्नेछ।

तपाईको प्रतिकृया