भारतमा भ्वाइस र एसएमएसका लागि छुट्टै ट्यारिफ अनिवार्य

काठमाडौं। भारतीय टेलिकम उपभोक्ताका लागि भ्वाइस कल र एसएमएस छुट्टै ट्यारिफमा उपलब्ध हुने भएको छ। भारतीय दूरसंचार नियामक प्राधिकरण (ट्राई)ले नयाँ नियम लागू गर्दै सेवा प्रदायकहरूलाई छुट्टै योजनाहरू अनिवार्य गर्न निर्देशन दिएको छ।

ट्राईले संशोधित टेलिकम उपभोक्ता संरक्षण नियमावलीमा सेवा प्रदायकले भ्वाइस कल र एसएमएसका लागि न्यूनतम एक विशेष ट्यारिफ योजना प्रस्ताव गर्नुपर्ने उल्लेख गरेको छ। यस्तो योजनाको वैधता अवधि ३६५ दिनभन्दा बढी हुने छैन। यो कदमले डाटा प्रयोग नगर्ने प्रयोगकर्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ। साथै, ट्राईले टेलिकम कम्पनीहरूलाई न्यूनतम १० रुपैयाँको रिचार्ज भाउचर उपलब्ध गराउन अनिवार्य गरेको छ।

यससँगै ट्राईले स्पाम कल र म्यासेज नियन्त्रण गर्न नयाँ उपायहरू पनि लागू गरेको छ। स्पाम समस्याको समाधानमा चासो नदेखाएका ठूला टेलिकम कम्पनीहरूमाथि जरिवाना लगाइएको छ। यसअघि २०१० मा लागू गरिएको टेलिकम कमर्शियल कम्युनिकेसन कस्टमर प्रिफरेन्स रेगुलेसन (टीसीसीसीपीआर)अन्तर्गत पनि यस्ता कम्पनीहरूलाई कारबाही गरिएको थियो।

स्पाम समस्यालाई न्यून गर्न ट्राईले “मेसेज ट्रेसेबिलिटी” भनिने नयाँ नियम डिसेम्बर ११ देखि लागू गरेको छ। यो नियमले सन्देशहरू ट्र्याक गर्न सहज बनाउँदै स्पामको प्रभावलाई कम गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिकृया