भिवोले आगामी वर्ष २०२५ मा आफ्नो मिक्स्ड रियालिटी (एमआर) हेडसेट बजारमा ल्याउने घोषणा गरेको छ। यो हेडसेट एप्पल भिजन प्रो र सामसङको प्रोजेक्ट मूहानजस्ता अन्य हेडसेटहरूसँग प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ विकास गरिएको छ।
चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा टिप्स्टर डिजिटल च्याट स्टेसनले जानकारी दिएअनुसार, भिवोको एमआर हेडसेट एप्पल भिजन प्रो जस्तै हुनेछ तर यसले आफ्ना विशेषताका कारण एप्पलको डिभाइसलाई समेत उछिन्ने अपेक्षा गरिएको छ।
सामग्रीको इकोसिस्टम तयार भएपछि मात्र सार्वजनिक हुने
यस डिभाइसको सार्वजनिक मिति अहिले सम्म खुलाइएको छैन। भिवोका एक कार्यकारीका अनुसार, यस एमआर हेडसेटको आधिकारिक प्रक्षेपण सामग्री इकोसिस्टमको तयारीमा निर्भर हुनेछ।
भिवो इमेजिङ कन्फरेन्स २०२३ मा कम्पनीले एमआर हेडसेट विकास गरिरहेको पुष्टि गरेको थियो। त्यस क्रममा भिवोका उपाध्यक्ष यु मेंगले यो उपकरण २०२५ मा सार्वजनिक हुने जानकारी दिएका थिए।
के यो हेडसेटले एप्पल र सामसङलाई चुनौती दिन सक्छ? २०२५ सम्मको प्रतीक्षा गरौं।