मनसुन पूर्वतयारीका लागि पालिकालाई सरकारको परिपत्र

मनसुनजन्य विपद्‌को जोखिम न्यूनिकरण तथा प्रभावकारी प्रतिकार्यका लागि संघीय सरकारले देशभरका स्थानीय तहहरूलाई तयारी गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयबाट जारी ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२’ को कार्यान्वयन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकालाई परिपत्र जारी गरेको हो।

मन्त्रालयका शाखा अधिकृत सन्तोषकुमार खत्रीका अनुसार, यो वर्ष मनसुन अवधिमा अत्यधिक वर्षा हुने प्रक्षेपण भएकाले स्थानीय तहहरूलाई उक्त कार्ययोजना अनुसारको पूर्वतयारी गर्न भनिएको हो। परिपत्रमा स्थानीय तहले आफ्नो क्षेत्रभित्र पर्ने जिम्मेवारीहरू निर्वाह गर्न, मनसुनजन्य विपद्‌को सम्भावनाबारे समुदायमा चेतना फैलाउन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।

पालिका तहमै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी त्यसलाई तत्काल लागू गर्नुपर्ने, त्यसको जानकारी मन्त्रालयलाई दिनुपर्ने र नगर प्रहरीसहित आवश्यक स्रोतसाधन तयारी अवस्थामा राख्नुपर्ने स्पष्ट गरिएको छ। साथै, विपद्‌ अवधिमा खोज, उद्धार तथा राहतका कार्यहरूका लागि स्वयंसेवकहरूको सक्रिय परिचालन गर्न पनि भनिएको छ।

परिपत्रमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाइने र मनसुन प्रतिकार्यका लागि पालिकास्तरमा ‘कमान्ड पोष्ट’ स्थापना गर्नुपर्ने उल्लेख छ। यस्तै, नगर तथा बस्तीका ढल सफा गर्ने, खोलानाला र पानी निकास व्यवस्थापन गर्ने र संभावित खतरा न्यूनीकरणका लागि सरकारी, गैरसरकारी तथा मानवीय संघसंस्थासँग समन्वय गर्न भनिएको छ।

कालोबजारी, कृत्रिम अभाव र आपराधिक गतिविधिमाथि नियन्त्रण गर्न स्थानीय तहलाई सक्रिय हुन पनि निर्देशन दिइएको छ।

तपाईको प्रतिकृया