बिबिसीका अनुसार, प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दौड तीव्र गतिमा अघि बढिरहेका बेला मेटा प्लेटफर्म्सका एआई अनुसन्धान प्रमुख जोएल पिनियोले आफ्नो पद छोड्ने घोषणा गरेकी छिन्। उनी मे ३० मा मेटाबाट अलग हुने भएकी छिन्।

पिनियो मेटामा आठ वर्षदेखि कार्यरत रहँदै आएकी थिइन्। सन् २०२३ देखि उनले मेटाको फण्डामेन्टल एआई रिसर्च (FAIR) समूहको नेतृत्व गर्दै आएकी थिइन्। आफ्नो कार्यकालमा उनले विभिन्न महत्वपूर्ण परियोजनाहरूमा काम गरिन्, जसले हाल मेटाका धेरै उत्पादनहरूलाई सशक्त बनाइरहेका छन्। उनले विकास गरेका प्रविधिहरूमा पाइटर्च (PyTorch), एफएआईएसएस (FAISS), रोबर्टा (Roberta), डिनो (Dino), लामा (Llama), एसएएम (SAM), कोडजेन (Codegen) र अडियोबक्स (Audiobox) जस्ता परियोजनाहरू उल्लेखनीय छन्। यी प्रविधिहरू अहिले दर्जनौं टोलीहरूले विभिन्न उत्पादनहरू निर्माण गर्न प्रयोग गरिरहेका छन्।
जोएल पिनियोले आफ्नो लिंक्डइन पोष्टमार्फत राजीनामाको घोषणा गर्दै प्रविधि जगत तीव्र परिवर्तनको क्रममा रहेको बताइन्। उनले एआई प्रविधिको प्रतिस्पर्धा अझै तिव्र गतिमा अगाडि बढिरहेको र मेटाले नयाँ अध्यायतर्फ पाइला चाल्ने बेला भएको बताइन्। उनले आफ्नो निर्णयको कारण खुलाउँदै अब नयाँ पुस्तालाई अवसर प्रदान गर्ने समय आएको बताएकी छिन्।
मेटाले गत वर्ष एआई सम्बन्धी आफ्नो अनुसन्धान समूहलाई पुनः संरचना गर्दै एआई अनुसन्धानको सम्पूर्ण पक्षलाई एकीकृत गर्ने निर्णय गरेको थियो। यस प्रक्रियाले कम्पनीको उत्पादन र सेवामा आधुनिक एआई प्रविधि समावेश गर्ने तथा नयाँ प्रविधिको विकासलाई तीव्र पार्ने उद्देश्य राखेको थियो। मेटाका सीईओ मार्क जुकरबर्गले पनि कम्पनीले एआई क्षेत्रमा ठूलो लगानी गरिरहेको बताएका थिए।
जोएल पिनियोको प्रस्थानले मेटाको एआई अनुसन्धान रणनीतिमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा प्रविधि विश्लेषकहरू छलफल गरिरहेका छन्। मेटाले उनको ठाउँमा नयाँ नेतृत्व कसलाई ल्याउनेछ भन्नेबारे अझै कुनै आधिकारिक जानकारी दिएको छैन। तर, पिनियोको योगदानलाई प्रविधि जगतले निकै सम्मानका साथ हेर्ने गरेको छ।