बिबिसीका अनुसार अमेरिकामा डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपति पदमा प्रवेशसँगै टेक कम्पनीहरूले नयाँ सरकारसँग तालमेल गर्न उच्च प्राथमिकता दिइरहेका छन्। यही क्रममा, मेटा — जसले फेसबुक, इन्स्टाग्राम र थ्रेड्स जस्ता ठूला सामाजिक सञ्जाल सञ्चालन गर्छ — ले आफ्नो सामग्री व्यवस्थापन प्रणालीमा ठूला परिवर्तन ल्याउने घोषणा गरेको छ।
मेटाका सीईओ मार्क जुकरबर्गले एक भिडियो सन्देशमा फ्याक्ट-चेकर हटाएर ‘कम्युनिटी नोट्स’ नामक नयाँ मोडेल लागू गर्ने बताएका छन्। यो प्रणाली एलन मस्कको प्लेटफर्म ‘एक्स’ (पूर्व ट्विटर) मा प्रयोग भएको मोडलसँग मिल्दोजुल्दो हुनेछ।
मेटाले सन् २०१६ को अमेरिकी चुनावपछिको समयदेखि नै फ्याक्ट-चेकिङ कार्यक्रम लागू गरेको थियो। यो प्रणालीको उद्देश्य सामाजिक सञ्जालमा फैलने गलत जानकारी नियन्त्रण गर्नु थियो। तर, पछिल्ला वर्षहरूमा यसले प्रयोगकर्ताहरूलाई अन्यायपूर्ण रूपमा ‘फेसबुक जेल’ मा थुन्ने, निर्दोष सामग्रीलाई प्रतिबन्ध गर्ने र राजनीतिक पूर्वाग्रहले प्रभावित गर्ने आरोप खेप्नुपरेको थियो।
मेटाका प्रमुख ग्लोबल अफेयर्स अधिकारी जोए क्यापलानले एक विज्ञप्तिमा भने, “हाम्रा सामग्री व्यवस्थापन प्रणालीले विगतमा सामाजिक र राजनीतिक दबाबका कारण अत्यन्त जटिल रूप लिएको छ। यसले मूलतः अभिव्यक्तिको स्वतन्त्रतालाई अवरोध पु¥याएको छ। त्यसैले, हामी यो प्रणालीलाई सरल र प्रभावकारी बनाउँदैछौं।”
अब, प्रयोगकर्ताहरूले ‘कम्युनिटी नोट्स’ प्रणालीमार्फत सामग्रीमा थप सन्दर्भ थप्न वा गलत सूचना भनेर रिपोर्ट गर्न सक्नेछन्। प्रयोगकर्ताहरूले नै नोट्स लेख्ने र मूल्यांकन गर्ने भएकाले यो प्रणाली बाह्य फ्याक्ट-चेकरमाथि निर्भर हुने छैन। सुरुवातमा यो सुविधा अमेरिकामा लागू हुने र आगामी केही महिनामा अन्य देशमा पनि विस्तार हुने बताइएको छ।
मेटाले अब आतंकवाद, बाल यौन शोषण, र गैरकानुनी लागूपदार्थ जस्ता उच्च-स्तरका उल्लङ्घनमा मात्र प्राथमिकता दिने जनाएको छ। राजनीतिक वा सामाजिक बहससम्बन्धी सामग्री भने प्रयोगकर्ताहरूले हानिकारक भनेर रिपोर्ट नगरेसम्म कडाइका साथ जाँच गरिने छैन।
यस प्रणालीले स्वतन्त्र अभिव्यक्ति प्रवर्द्धन गर्दै मेटाका सामाजिक सञ्जालमा सामग्रीको सन्तुलन कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।