राष्ट्रपतिद्वारा छुवाछूत अन्त्यका लागि साझा अभियानको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढ अडान लिन सम्पूर्ण पक्षलाई आह्वान गरेका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले जातीय भेदभावलाई सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको गम्भीर अपराधको संज्ञा दिएका हुन्।

राष्ट्रपतिले सबै जात–जाति तथा समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना विकास गरी समतामूलक समाज निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले समभावको विकास र सामाजिक जागरणमार्फत समतासहितको राष्ट्रिय एकता सुदृढ गर्न जातीय विभेद तथा छुवाछूतविरुद्ध दृढतापूर्वक उभिनु लोकतान्त्रिक राज्य प्रणालीको सार्थकता भएको स्पष्ट पारेका छन्।

राष्ट्रपतिले व्यक्तिबाट समाजसम्म, स्थानिय, प्रदेश र संघीय सरकारका सबै तह, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थालाई जातीय छुवाछूत तथा विभेदविरुद्ध अझ बढी संवेदनशील र क्रियाशील हुन आह्वान गरेका छन्।

उनले नेपालको संविधानले स्वीकारेको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषताको संरक्षण र प्रवद्र्धन गर्दै जातीय छुवाछूत, वर्गीय, लैङ्गिक, धार्मिक, भाषिक विभेदको अन्त्य गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको पुनः स्मरण गराएका छन्।

राष्ट्रपतिले सोच, शैली, सामाजिक व्यवहार र प्रचलनमा सकारात्मक परिवर्तन ल्याई एकता, मेलमिलाप तथा सद्भाव अभिवृद्धिबाट जातीय विभेद र छुवाछूत अन्त्य गर्न सकिने विश्वास व्यक्त गर्दै समतामूलक, सुसंस्कृत र छुवाछूतरहित समृद्ध राष्ट्र निर्माणको प्रेरणा यस दिवसबाट मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

विसं २०६३ जेठ २१ गते मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको स्मरण गर्दै, हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’का रूपमा मनाइँदै आएको छ।

तपाईको प्रतिकृया