रुसमा भीषण भूकम्पपछि सुनामीको त्रास

रुसको सुदूरपूर्वी समुद्री तट नजिक बुधबार बिहान ८ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार स्थानीय समयअनुसार बिहान ८ बजेर २५ मिनेटमा गएको यो भूकम्प निकै गहिरो रहेको र यसको कम्पन निकै टाढासम्म महसुस गरिएको थियो।

भूकम्पको केन्द्रबिन्दु रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर पूर्व समुद्रतर्फ पर्ने काम्चात्का प्रायद्वीपको तटबाहिरको क्षेत्र हो, जसको गहिराइ १८ दशमलव २ किलोमिटर मापन गरिएको अमेरिकी भूगर्भीय सर्वेक्षण संस्था (यूएसजीएस)ले जनाएको छ। भूकम्पपछि समुद्री सतहमा उत्पन्न भएको हलचलका कारण प्रशान्त महासागरमा व्यापक सुनामीको जोखिम देखिएको छ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक मापनका आधारमा यो भूकम्पपछि खतरनाक स्तरको छाल आउन सक्ने सम्भावना रहेको भन्दै जापान, अमेरिका (अलास्का र हवाई) तथा रुसका तटीय भूभागहरूमा चेतावनी जारी गरेको छ। जापानको मौसम विज्ञान एजेन्सीले पनि जापानी तटीय क्षेत्रहरूमा एक मिटर अग्लोसम्मको छाल आउन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले सो सूचना सार्वजनिक गरेको हो।

काम्चात्का प्रायद्वीपका गभर्नर भ्लादिमिर सोलोदोभले सम्भावित सुनामीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय नागरिकहरूलाई तटीय क्षेत्रहरूबाट टाढा रहन अनुरोध गरेका छन्। उनले जनताको सुरक्षालाई प्राथमिकता दिँदै प्रशासनिक संयन्त्रलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन्।

सामान्यतया कम जनसंख्यायुक्त र दुर्गम मानिने काम्चात्का क्षेत्र भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रमध्ये पर्दछ। यस्ता समुद्र केन्द्रित शक्तिशाली भूकम्पहरूका कारण उत्पन्न हुने छालहरूले जनधनको ठूलो क्षति पुर्याउने सम्भावना रहने भएकाले यसपटकसमेत आपतकालीन सतर्कता जारी गरिएको छ।

हालसम्म कुनै मानवीय क्षति वा संरचनागत विनाशको विवरण आएको छैन। तर पनि स्थानीय तथा अन्तर्राष्ट्रिय सुरक्षा निकायहरू घटनाको गहिरो निगरानीमा छन्। विशेषगरी समुद्रपारिका क्षेत्रहरूमा सम्भावित जोखिमका कारण आवश्यक सतर्कता अपनाइँदैछ।

तपाईको प्रतिकृया