
वेल्सको एक सानो शहर कुम्ब्रानमा आधारित अनलाइन सामुदायिक समाचार साइट Cwmbran Life का पत्रकार बेन ब्ल्याकले एप्रिल फूल्स डेमा रमाइलो गर्ने उद्देश्यले प्रत्येक वर्ष झुटा समाचार प्रकाशित गर्ने परम्परा राखेका थिए। तर सन् २०२० मा प्रकाशित एउटा झुटा समाचार, जसलाई उनले सोही दिन दिउँसो नै सच्याएका थिए, अहिले आएर कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित एक टुलले सत्य जानकारीको रूपमा प्रयोग गरेपछि उनी अचम्मित र चिन्तित बनेका छन्।
४८ वर्षीय पत्रकार ब्ल्याकले २०१8 देखि आफ्नी पत्नीको सहयोगमा हास्यरस मिसिएका झुटा समाचारहरू तयार पार्दै आएका थिए। सन् २०२० मा उनले कुम्ब्रान शहरलाई विश्वकै सबैभन्दा बढी गोलचक्कर (राउन्डअबाउट) भएको शहर भन्दै गिनिज वर्ल्ड रेकर्डले मान्यता दिएको दाबीसहितको समाचार लेखेका थिए। उक्त समाचारमा उनले गोलचक्करको संख्या आफैंले बनाएका थिए र एक बासिन्दाको नक्कली प्रतिक्रिया समेत थपेका थिए।
बेन्ले भने, “स्मरणअनुसार, त्यो समाचारले राम्रो प्रतिक्रिया पायो, सबैले हाँसे।” तर सोही दिन दिउँसो उनले समाचारमा एप्रिल फूल्सको संकेत थपेर झुटो समाचार भनेर स्पष्ट पारेका थिए। यद्यपि, भोलिपल्टै एउटा ठुलो राष्ट्रिय समाचार साइटले अनुमति बिना नै उक्त सामग्री प्रयोग गर्यो। उनले हटाउन प्रयास गरे पनि त्यो सामग्री अझै इन्टरनेटमा उपलब्ध छ।
यस वर्ष एप्रिल फूल्स डेमा पुराना लेख खोज्दा उनले गूगलको एआई टुल र एउटा ‘सिक्न गाडी चलाउने’ वेबसाइटले उक्त झुटा जानकारीलाई सत्य मानेर प्रस्तुत गरिरहेको देखे। “अब स्कटल्याण्डको कसैले वेल्सको सडकबारे खोज्दा त्यो झुटो तथ्य देखिन्छ, जुन डरलाग्दो कुरा हो।” उनले भने, “यस्तो समाचार खतरनाक नहोला तर यसले प्रमाणित गर्छ कि झुटा जानकारी विश्वसनीय स्रोतबाट पनि सजिलै फैलिन सक्छ।”
ब्ल्याकले थपे, “मैले त्यस दिनै सच्याए पनि इन्टरनेट आफैंले आफ्नो बाटो लिन्छ। यो एकदमै पागलपन हो।” उनले एआई प्रणालीहरू स्वतन्त्र प्रकाशकहरूको लागि चुनौति बनेको भन्दै गुनासो गरे। उनका अनुसार धेरै एआई कम्पनीहरूले ठूला सञ्चारमाध्यमहरूसँग सहकार्य गर्दै सामग्री प्रयोग गरिरहेका छन्, तर साना प्रकाशकहरू त्यस्तो सम्झौताबाट वञ्चित छन्।
यस घटनाले उनीमा गहिरो प्रभाव पारेको छ। “म यसपालि निकै व्यस्त थिएँ, त्यसैले एप्रिल फूल्सको समाचार लेखिनँ। अब त झुटा समाचार कहिल्यै लेख्दिन भन्ने निर्णयमा पुगेको छु,” उनले बताए।