सामसङ एक्सआर हेडसेट: भविष्यको प्रविधि संसार

प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको सामसङले यस वर्ष आफ्नो एक्सटेन्डेड रियालिटी (XR) हेडसेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ। अमेरिकी सञ्चारमाध्यम सीएनबीसीका अनुसार कम्पनीका प्रवक्ताले यसबारे पुष्टि गरेका छन्। ‘प्रोजेक्ट मुहान’ को नाम दिइएको उक्त उपकरण, एप्पलको भिजन प्रोको प्रतिस्पर्धीको रूपमा प्रस्तुत गरिने बताइएको छ।

यसअघि सामसङले मोबाइल वर्ल्ड कांग्रेस (MWC) २०२५ मा आफ्नो हेडसेटको नमूना सार्वजनिक गरिसकेको थियो। डिजिटल र भौतिक दुनियाँलाई मिश्रण गर्ने उद्देश्यले तयार पारिएको यो उपकरण एक्सटेन्डेड रियालिटी प्रविधिमा आधारित छ। हेडसेटको अगाडिको भागमा चारवटा क्यामेरा तथा छेउमा टच नियन्त्रणहरू रहने विवरण सार्वजनिक भएको छ।

सामसङले यो प्रविधि विकास गर्नका लागि गुगल र क्वालकमसँग सहकार्य गरिरहेको छ। यी तीन प्रविधि दिग्गजहरूले संयुक्त रूपमा नयाँ अपरेटिङ सिस्टम ‘एन्ड्रोइड एक्सआर प्लेटफर्म’ निर्माण गरिरहेका छन्। यस प्रविधिले प्रयोगकर्तालाई अधिक सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

डिसेम्बर २०२४ मा सामसङले हेडसेटमा गुगलको एआई मोडेल ‘जेमिनी’ समावेश गरिने जानकारी दिएको थियो। यस प्रविधिले प्रयोगकर्तालाई आवाज तथा हातको इशारामार्फत डिभाइस नियन्त्रण गर्ने सुविधा उपलब्ध गराउनेछ। यो प्रविधि एप्पलको भिजन प्रोमा उपलब्ध इशारा नियन्त्रण प्रविधिसँग मिल्दोजुल्दो रहेको बताइन्छ।

सामसङले भर्चुअल रियालिटी (VR) प्रविधिमा पहिले नै आफ्नो उपस्थिति जनाइसकेको थियो, तर सो प्रविधिले अपेक्षित सफलता हासिल गर्न सकेन। हाल प्रविधिमा आएको सुधार र उच्च क्षमताका चिपसेट तथा डिस्प्ले विकाससँगै, कम्पनीले नयाँ एक्सटेन्डेड रियालिटी हेडसेटलाई कम्प्युटिङको नयाँ युगको रूपमा अघि बढाउने योजना बनाएको छ।

प्रविधि विश्लेषकहरूका अनुसार, एक्सटेन्डेड रियालिटी प्रविधिले आगामी दिनमा ठूलो प्रभाव पार्ने सम्भावना छ। सामसङको नयाँ हेडसेटले डिजिटल तथा भौतिक संसारलाई एकसाथ ल्याई प्रयोगकर्तालाई अद्वितीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिकृया