
युक्रेनमा सन् २०२२ मा जारी युद्धको संवेदनशील समयमा स्टारलिंक सेवा बन्द गर्न निर्देशन दिँदा अमेरिकी अर्बपति तथा स्पेस एक्सका प्रमुख इलन मस्क विवादमा तानिएका छन्। रोयटर्सले उल्लेख गरेअनुसार, युक्रेनी सेनाले रुसी फौजलाई घेर्न लागेको निर्णायक क्षणमा स्टारलिंक इन्टरनेट सेवा बन्द हुँदा युद्धको रणनीति अवरुद्ध भएको हो।
युक्रेनको खेरसन क्षेत्रमा भएको घटनामा एकाएक सिग्नल अवरुद्ध भएपछि ड्रोन सञ्चालन, तोप समन्वय र सेनाबीचको सम्पर्क टुटेको थियो। एक युक्रेनी सैन्य अधिकारीले भनेका छन्, “सम्पर्कविहीनताका कारण हाम्रो रणनीति असफल भयो।” उक्त घडीमा मस्कले आफ्ना वरिष्ठ इन्जिनियरमार्फत सेवा बन्द गर्न भनेको खुलासा भएको हो।
युद्धका मोर्चामा निजी प्रविधि कम्पनीका निर्णयले असर पार्न सक्ने यो घटनाले प्रविधिको शक्ति र स्वायत्तता सम्बन्धी गम्भीर प्रश्न उठाएको छ। मस्कको निर्देशनको पछाडि रुसको सम्भावित आणविक प्रतिक्रिया हुन सक्ने अनुमान गरिएको छ। तर, स्पेस एक्सले यस्तो दाबीलाई ‘मिथ्या’ भनेको छ र मस्कले पनि अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्।
स्टारलिंक सेवा युक्रेनी सेनाका लागि सञ्चार र समन्वयको मेरुदण्डको रूपमा रहँदै आएको छ। हाल लगभग ५० हजार टर्मिनल प्रयोगमा छन्, जसको ठूलो भाग पोल्यान्डले उपलब्ध गराएको हो। युक्रेनी सेनाले यिनै टर्मिनल प्रयोग गरेर सुरक्षित सञ्चार, ड्रोन सञ्चालन र युद्ध रणनीति निर्माण गर्दै आएको छ।
हालैको सेवा अवरोधले पनि यसको संवेदनशीलता देखाएको छ। केही दिन अघि २.५ घण्टा सेवा अवरुद्ध हुँदा युक्रेनी सेनाले युद्धको वास्तविक दृश्य बिना नै भिडिओ फिड पठाउनु परेको थियो। ड्रोन कमान्डर रोबर्ट ब्रोब्डीका अनुसार वैकल्पिक प्रणालीको खाँचो दिनदिनै महसुस भइरहेको छ।
अहिलेसम्म युक्रेनले करिब ७ प्रतिशत भूभाग फिर्ता लिइसकेको छ भने १९ प्रतिशत अझै रुसी नियन्त्रणमा छ। अमेरिका, पोल्यान्ड र अन्य साझेदारले यो सेवाको खर्च बेहोर्दै आएका छन्। सेवा संचालन, मर्मत र प्रवाहका लागि मात्रै मस्कको कम्पनीले वार्षिक १२ करोड डलर बराबरको सहयोग गरिरहेको बताइएको छ।
तर, यो सहयोगप्रति मस्कको भनाइ समय–समयमा विवादास्पद रहँदै आएको छ। गत वर्ष उनले पोल्यान्डका परराष्ट्रमन्त्रीसँग सामाजिक सञ्जालमा झगडा गर्दै “स्टारलिंकको विकल्प छैन” भनेका थिए।
