
SpaceX नयाँ पुस्ताको स्टारशिप रकेट टेक्सासबाट उडान भरेको केही मिनेटमै विस्फोट हुँदा खगोल विज्ञानको क्षेत्रमा ठूलो झट्का लागेको छ। बिहीबार स्थानीय समयअनुसार साँझ ५:३८ मा प्रक्षेपण भएको यो रकेट करिब आठ मिनेटपछि अन्तरिक्षमै विस्फोट भएको थियो। यसको कारण खतराको क्षेत्रबाट टुक्रा खस्न सक्ने सम्भावनाले खाडी क्षेत्रका विमान उडानहरू रुट परिवर्तन गर्नुपर्ने भए।
स्टारशिपको यसपटकको परीक्षणमा पहिलोपटक परीक्षण उपग्रहहरू लोड गरिएका थिए, तर कुनै चालक दल थिएनन्। स्पेसएक्सका सञ्चार व्यवस्थापक “डान हुटले” विस्फोटको केही समयपछि स्टारशिपसँगको सम्पर्क टुटेको र यसलाई “उच्च तहको समस्या” भएको पुष्टि गरे। कम्पनीले रकेटमा भएको अक्सिजन चुहावटका कारण दबाब बढेको र अन्ततः विस्फोट भएको प्रारम्भिक मूल्यांकन गरेको छ।
विस्फोटपछि फ्लाइटरडार२४ का अनुसार खाडी क्षेत्रमा उडिरहेका दर्जनौं व्यावसायिक विमानहरूले आफ्नो मार्ग परिवर्तन गर्नुपरेको थियो। मियामी र फोर्ट लौडरडेल विमानस्थलबाट हुने उडानहरू करिब ४५ मिनेट ढिलो भए।
स्टारशिपको माथिल्लो भाग ६.५६ फिट अग्लो र नयाँ प्रविधिहरू समेटिएको बताइएको थियो। यसले परीक्षणपछि करिब एक घण्टामा भारतीय महासागरमा नियन्त्रित अवतरण गर्ने योजना थियो। तर, स्पेसएक्सको यो सातौँ परीक्षण पनि असफल रह्यो।
स्पेसएक्सले “परीक्षण-बाट-सिक्ने” विधिमा ध्यान केन्द्रित गर्दै यसअघिका धेरै प्रोटोटाइप विस्फोटलाई पनि सकारात्मक रूपमा लिएको थियो। तर, यसपटकको असफलता भने कम्पनीका लागि चुनौती बनेको छ। यदि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले अनुसन्धान थालेमा आगामी प्रक्षेपणहरू थप ढिला हुन सक्नेछ।
स्पेसएक्सका संस्थापक एलन मस्कले यस असफलताले आगामी प्रक्षेपणमा खासै असर नपार्ने दाबी गर्दै आगामी महिनाभित्र अर्को परीक्षण उडान गरिने बताए। मस्कले यसअघि एफएएका प्रमुखमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै आलोचना गरेका थिए।
स्पेसएक्सको यो महत्वाकांक्षी परियोजना मानव र कार्गोलाई मंगल ग्रहसम्म पुर्याउन तथा ठूलो परिमाणमा उपग्रह प्रक्षेपण गर्न सक्षम बनाउने उद्देश्यले अघि बढाइएको छ। तर, लगातार हुने असफलताले कम्पनीका लक्ष्यहरूमा ढिलाइ गराउने सम्भावना बढाएको छ।