
प्रविधिको विकाससँगै स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। तर, यदि त्यही स्मार्टफोन हरायो भने, त्यसमा रहेका व्यक्तिगत तथा वित्तीय डाटाका कारण प्रयोगकर्तालाई गम्भीर समस्या पर्न सक्छ। यसै समस्यालाई मध्यनजर राख्दै, दक्षिण कोरियाली कम्पनी सामसङले ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि सुरक्षा उपायहरू सुझावस्वरूप सार्वजनिक गरेको छ।
सामसङले “फाइण्ड माई फोन” सुविधा प्रयोगकर्ताले सक्रिय गर्न सल्लाह दिएको छ, जसले फोन हराएपछि त्यसलाई टाढाबाट पत्ता लगाउन, लक गर्न, वा डाटा मेटाउन मद्दत पुर्याउँछ। यो सुविधा फोन अफ भए पनि वा ब्याट्री सकिएको अवस्थामा समेत प्रयोगकर्तालाई सहुलियत दिन सक्छ।
फोनमा उन्नत सुरक्षा उपायहरू पनि आवश्यक छन्। सामसङ डिभाइसहरूमा पिन/पासवर्ड, फिङ्गरप्रिन्ट, र फेसियल रिकग्नेसन जस्ता फिचरहरू उपलब्ध छन्, जसले अनधिकृत पहुँचलाई रोक्न सहयोग गर्छन्। साथै, फोनमा “अटोमेटिक डिलिट” को सुविधा सेटअप गर्न सकिन्छ, जसले असफल अनलक प्रयासहरूपछि फोनमा रहेका डाटा स्वतः मेटाउन सक्छ।
फोनमा भएका संवेदनशील जानकारीहरूलाई सुरक्षित राख्न डाटा इन्क्रिप्शन एक अनिवार्य प्रक्रिया हो। सामसङ ग्यालेक्सी फोनहरूमा बिल्ट–इन इन्क्रिप्सन सुविधा प्रदान गरिएको छ, जसलाई सक्रिय गरेपछि बिना अनुमति कुनैपनि व्यक्तिले डाटा पढ्न सक्दैन।
सुरक्षाको अर्को भरपर्दो फिचर हो “सामसङ नक्स”, जुन फोनभित्रै सधैँ सक्रिय रहन्छ। यसले साइबर आक्रमणबाट फोनलाई जोगाउन मद्दत पुर्याउँछ। यसमा कन्टेनराइजेसन, एप व्यवस्थापन र इन्क्रिप्सन सुविधा समावेश छन्।
सामान्य प्रयोगकर्ताहरूलाई सुझाव दिइएको छ कि डाटाको नियमित ब्याकअप राख्ने, रिमोट वाइप सक्रिय गर्ने, र व्यक्तिगत खातामा बायोमेट्रिक वा कोड सुरक्षा अपनाउने अभ्यास गरियो भने डाटाको सुरक्षामा ठूलो सहयोग मिल्छ।
स्मार्टफोन हराउनु अवश्य तनावपूर्ण अवस्था हो, तर पूर्व तयारी र सुरक्षात्मक उपायहरू अपनाएर डाटालाई सुरक्षित राख्न सकिन्छ भन्ने कुरा यस गाइडले प्रस्ट पारेको छ।