हुम्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं। हुम्ला जिल्लाका केही स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। कर्णाली प्रदेश अन्तर्गत पर्ने यस क्षेत्रमा नेपाल टेलिकमका बीटीएस टावरहरूमा अनधिकृत समूह वा व्यक्तिहरूले क्षति पुर्‍याउँदा सञ्चार सेवा प्रभावित भएको हो।

नेपाल टेलिकमले सोमबार विज्ञप्ति जारी गर्दै सर्केगाड गाउँपालिका-०५ स्थित बरै माइक्रो बीटीएसमा ४ पुसका दिन सोलार प्यानल, भीस्याट उपकरण र अर्थिङ केबुलमा क्षति पुगेको जनाएको छ। विकट भौगोलिक अवस्थाका कारण मर्मत कार्य सम्पन्न गर्न केही समय लाग्ने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति दु:ख व्यक्त गर्दै सार्वजनिक महत्त्वका सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्न सबैमा अपिल गरेको छ। यसप्रकारका गतिविधिले सर्वसाधारणको सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने टेलिकमले उल्लेख गरेको छ।

तपाईको प्रतिकृया