
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित इन्टरनेट दिवसको अवसरमा शुभकामना सन्देश दिँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सूचना प्रविधि (आईटी) को महत्वलाई प्रकाश पारेका छन्। उनले समयको मागलाई बुझ्न यी दुई विषयको ज्ञान अपरिहार्य रहेको बताए।
प्रधानमन्त्री ओलीले सूचना प्रविधिको प्रयोगबाट नेपाललाई आधुनिक राष्ट्र बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए। हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार मनाइने सुरक्षित इन्टरनेट दिवसको अवसरमा उनले नेपालमा इन्टरनेटको पूर्वाधारलाई तीव्र गतिमा विस्तार गरिरहेको जानकारी दिए।
“आईटी दक्ष जनशक्ति नेपालको विकासको प्रमुख आधार हो,” प्रधानमन्त्री ओलीले भने, “डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत हरेक क्षेत्रमा प्रविधिको उपयोग गर्दै आधुनिकीकरण गरिरहेका छौं।”
उनले आईटीको महत्वलाई जोड दिँदै ‘आईटी फर अल, आईटी फर बिजनेस, आईटी फर एजुकेसन, आईटी फर इन्फर्मेशन—अबको युग यही हो। एआईको जमानामा आईटी इज फर एभ्रीथिङ!’ भन्ने नारा प्रस्तुत गरे। विज्ञान र प्रविधिले नै अबको युगलाई डोर्याउने बताउँदै उनले नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बद्ध निकायहरूको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।
शिक्षामा प्रविधिको प्रभावकारितालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले एसईई परीक्षामा असफल विद्यार्थीको सङ्ख्या घटाउन सरकारले अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी दिए। हाल ५७ हजारभन्दा बढी विद्यार्थी इन्टरनेटमार्फत अध्ययन गरिरहेको उनले बताए। इन्टरनेटलाई विकास निर्माण तथा राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमनका लागि समेत प्रयोग गरिरहेको उनको भनाइ छ।