टोयोटाले चीनमा सबैभन्दा सस्तो विद्युतीय गाडी बीजेड३एक्स सार्वजनिक गर्यो

विश्वको सबैभन्दा ठूलो विद्युतीय गाडी बजारमा पकड जमाउने लक्ष्यसहित टोयोटाले चीनमा आफ्नो अहिलेसम्मकै सबैभन्दा सस्तो विद्युतीय गाडी बीजेड३एक्स (bZ3X) सार्वजनिक गरेको छ। केवल १५ हजार अमेरिकी डलर (१०९,८०० युआन) मूल्यबाट सुरू हुने यो एसयूभी लन्च भएको केही समयमै जबरजस्त माग देखिएको छ।

टोयोटाले आफ्नो चिनियाँ साझेदार जीएसी-टोयोटासँगको सहकार्यमा मार्च ६ मा औपचारिक रूपमा बीजेड३एक्स लन्च गरेको हो। यस गाडीको अर्डर यति तीव्र गतिमा आयो कि कम्पनीको सर्भर नै क्र्यास भएको थियो। रिपोर्टअनुसार, लन्चको एक घण्टाभित्रै १०,००० भन्दा बढी अर्डरहरू दर्ता भएका थिए।

विशेषताहरू र मूल्यवर्ग

बीजेड३एक्स दुई भेरियन्टमा उपलब्ध छ – स्मार्ट ड्राइभिङ प्रविधि भएको र बिना स्मार्ट प्रविधि

  • गैर-स्मार्ट टेक संस्करण: १ लाख ९ हजार ८०० युआन (१५,००० डलर)
  • स्मार्ट ड्राइभिङ संस्करण: १ लाख ४९ हजार ८०० युआन (२०,५०० डलर)

यस विद्युतीय गाडीमा एलएफपी ब्याट्री प्रविधि समावेश छ।

  • ४३० एयर भेरियन्ट: ५०.०३ किलोवाट आवर ब्याट्री, ४३० किमी (२६७ माइल) दायरा
  • ६१० म्याक्स भेरियन्ट: ६७.९२ किलोवाट आवर ब्याट्री, ६१० किमी (३७९ माइल) दायरा

आधुनिक प्रविधि र डिजाइन

टोयोटाले बीजेड३एक्सलाई “घर जस्तै आरामदायी मोबाइल स्पेस” प्रदान गर्ने गाडीको रूपमा प्रचार गरेको छ। यसमा अगाडिका तथा पछाडिका सिटहरू फोल्ड गर्न सकिन्छ, जसले ३ मिटर लामो अतिरिक्त ठाउँ उपलब्ध गराउँछ।

यस एसयूभीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, तथा बहु-कार्यात्मक स्टेयरिङ ह्वील समावेश छ। सुरक्षा प्रविधिहरूमा २५ एडीएएस (ADAS) सुविधाहरू उपलब्ध छन्, जसमा ब्लाइन्ड स्पट निगरानी, उच्च-गति पाइलट, रिमोट कन्ट्रोल पार्किङ जस्ता फिचर समावेश छन्।

बजारमा कडा प्रतिस्पर्धा

टोयोटाको बीजेड३एक्स चीनको विद्युतीय गाडी बजारमा बीवाईडी युआन प्लस (Atto 3) सँग प्रतिस्पर्धा गर्ने ठानिएको छ। टोयोटाले सस्तो मूल्य, उच्च प्रविधि, र लामो रेन्जको संयोजनमार्फत विद्युतीय गाडी बजारमा नयाँ मानक स्थापित गर्ने अपेक्षा गरेको छ।

तपाईको प्रतिकृया