नासाको भावी नेतृत्वमा निजी क्षेत्रको प्रभाव

बिबिसिका अनुसार, बिलियनेयर व्यवसायी जेरड इसाकम्यानले सन् २०२१ मा पहिलो पटक अन्तरिक्ष यात्रा गरेर ठूलो लक्ष्य प्रस्तुत गरेका थिए। अन्तरिक्ष केवल वैज्ञानिक वा धनीहरूका लागि मात्र होइन, आम मानिसका लागि पनि सहज हुनुपर्छ भन्ने उनको सोच थियो। यही सोचलाई निरन्तरता दिँदै उनले स्पेसएक्स मार्फत अन्तरिक्ष यात्राको सम्भावनाहरू परीक्षण गरिरहे।

तर पछिल्लो समय इसाकम्यान थप चर्चामा आएका छन्, जसको कारण अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नासाको प्रमुख नियुक्त गर्न सिफारिस गरेका छन्। यदि अमेरिकी सिनेटले उनको नियुक्तिलाई अनुमोदन गरे, भने अन्तरिक्ष यात्रासम्बन्धी अमेरिकी नीतिमा ठूला परिवर्तन आउन सक्ने देखिन्छ।

निजी क्षेत्रको वर्चस्व बढ्ने संकेत?

नासाका प्रमुखहरू प्रायः वैज्ञानिक, पूर्वअन्तरिक्षयात्री वा सरकारी प्रशासनिक अनुभव भएका व्यक्ति हुन्थे। तर, इसाकम्यान भने एक व्यवसायी हुन्, जसले १६ वर्षको उमेरमा भुक्तानी सेवा कम्पनी स्थापना गरी अर्बौं डलरको सम्पत्ति कमाएका थिए।

उनले निजी क्षेत्रलाई अन्तरिक्ष अनुसन्धानमा थप संलग्न गराउने नीति लिन सक्ने अनुमान गरिएको छ। ट्रम्प प्रशासनले सरकारी खर्च कटौती गर्दै आएको छ, र इसाकम्यानको नेतृत्वमा नासाले निजी कम्पनीहरू जस्तै स्पेसएक्स र ब्लु ओरिजिनसँग सहकार्य बढाउने सम्भावना बलियो देखिएको छ।

विशेष गरी, नासाको चन्द्रमामा मानव पठाउने योजना (आर्टेमिस कार्यक्रम) भित्रको ठूला खर्चलाई इसाकम्यानले नियन्त्रण गर्ने वा पुनः मुल्यांकन गर्ने आँकलन गरिएको छ। हाल नासाले प्रयोग गर्ने एसएलएस (स्पेस लन्च सिस्टम) को लागत प्रति प्रक्षेपण ४.१ अर्ब डलर रहेको छ, जबकि स्पेसएक्सको स्टारशिप प्रणाली केवल १०० मिलियन डलरमै अन्तरिक्ष यात्रा सम्भव बनाउने प्रयासमा छ।

स्पेसएक्सको वर्चस्व बढ्नेछ?

इसाकम्यान स्वयं स्पेसएक्ससँग निकट रहेका छन्। उनी स्पेसएक्सकै यानमार्फत दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका छन्। साथै, उनले स्पेसएक्सकै सहायतामा पहिलो व्यावसायिक स्पेसवाक (अन्तरिक्षमा हिँड्ने कार्य) पूरा गरेका थिए।

विश्लेषकहरूका अनुसार यदि नासाले सरकारी परियोजनाहरू कटौती गरेर स्पेसएक्सलाई मुख्य साझेदार बनायो भने, एलन मस्कको कम्पनीलाई ठूला सरकारी सम्झौता प्राप्त हुनसक्छ।

तर, अमेरिकामा एकल कम्पनीलाई अत्यधिक प्रभुत्व दिन नचाहने नीति भएकाले अन्य प्रतिस्पर्धी कम्पनीहरू जस्तै ब्लु ओरिजिन, फायरफ्लाइ एयरोस्पेस आदि पनि ठूलो भूमिकामा आउन सक्छन्।

अन्तरिक्ष अन्वेषणको नयाँ युग?

इसाकम्यानले नासाको नेतृत्व लिएमा चन्द्र अभियानभन्दा पनि सिधै मंगल ग्रह यात्रामा प्राथमिकता दिने सम्भावना छ। ट्रम्प स्वयंले आफ्नो कार्यकालमा चन्द्रमाभन्दा मंगल ग्रह अभियानलाई महत्व दिने कुरा गरेका थिए।

यस परिवर्तनले अन्तरिक्ष अनुसन्धानको नयाँ युग सुरु गराउन सक्छ। तर, नासाको वैज्ञानिक अनुसन्धान, जलवायु परिवर्तन सम्बन्धी निगरानी कार्यक्रम, र अन्य वैज्ञानिक मिसनहरू यसबाट प्रभावित हुन सक्ने चिन्ता विज्ञहरूले गरेका छन्।

तपाईको प्रतिकृया