लण्डन – बेलायतको सूचना आयुक्त कार्यालय (ICO) ले टिकटक, रेडिट र अनलाइन छवि साझेदारी प्लेटफर्म इमगुरद्वारा बालबालिकाको व्यक्तिगत डेटा सुरक्षा सम्बन्धी मापदण्ड कत्तिको प्रभावकारी छ भन्ने विषयमा अनुसन्धान सुरू गरेको छ।
विशेषगरी, चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले १३ देखि १७ वर्षका किशोर-किशोरीहरूको व्यक्तिगत जानकारी कसरी प्रयोग गर्छ भन्नेबारे छानबिन थालिएको छ। टिकटकको एल्गोरिदम प्रयोगकर्ताको सामग्री छनोट प्रणालीमा आधारित रहेको र यसले कतिपय अवस्थामा हानिकारक सामग्रीको प्रसार गर्ने जोखिम रहेको भन्दै गोपनीयता नियामकहरूले चासो व्यक्त गरेका छन्।
रेडिट र इमगुर जस्ता सामाजिक सञ्जालहरूमा बालबालिकाको उमेर निर्धारण कसरी गरिन्छ भन्ने विषयमा पनि अनुसन्धान अघि बढाइएको ICO ले जनाएको छ। यदि ती कम्पनीहरूले डेटा संरक्षण कानुन उल्लङ्घन गरेको प्रमाणित भए, तिनीहरूलाई स्पष्टीकरण दिन आग्रह गरिनेछ र त्यसपछि अन्तिम निर्णय लिइनेछ।
यसअघि, सन् २०२३ मा ICO ले टिकटकलाई १२.७ मिलियन पाउन्ड (झन्डै १६ मिलियन डलर) जरिवाना गरेको थियो। टिकटकले १३ वर्षभन्दा कम उमेरका बालबालिकाको अनुमति बिना व्यक्तिगत डेटा प्रयोग गरेको प्रमाणित भएपछि उक्त कारबाही गरिएको थियो।
रेडिटका प्रवक्ताले कम्पनीले बेलायती नियामकहरूसँग सहकार्य गरिरहेको र बालबालिकाको उमेर निर्धारण सम्बन्धी आवश्यक परिमार्जन गर्न लागिएको जानकारी दिए। “हाम्रा अधिकांश प्रयोगकर्ताहरू वयस्क छन्, तर हामी बेलायती नियमनलाई ध्यानमा राख्दै उमेर पुष्टि गर्ने प्रणाली सुधार गर्न लागिरहेका छौँ,” रेडिटका प्रवक्ताले रोयटर्सलाई इमेलमार्फत बताए।
यस विषयमा टिकटक, बाइटडान्स र इमगुरले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
बेलायतले हालै डिजिटल सुरक्षासम्बन्धी कानुन पारित गर्दै सामाजिक सञ्जाल कम्पनीहरूलाई कडा नियम पालना गर्न निर्देशन दिएको छ। विशेषगरी, बालबालिकालाई हानिकारक तथा उमेर-अनुचित सामग्रीबाट जोगाउन ती प्लेटफर्महरूले एल्गोरिदम नियन्त्रण गर्नुपर्ने कानुनी प्रावधान राखिएको छ।
ब्रिटिश सरकारले फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता कम्पनीहरूलाई बालबालिका सुरक्षा सुनिश्चित गर्न एल्गोरिदम नियन्त्रण गर्नुपर्ने नियम लागू गराउन लागेको हो।