काठमाडौं। ब्ल्याक होलको इभेन्ट होराइजनबाट केही पनि बाहिर जान नसक्ने भनाइलाई चुनौती दिने नयाँ अनुसन्धानले ब्ल्याक होलबाट सूचना गुप्त रूपमा बाहिर निस्कन सक्ने सम्भावना देखाएको छ। वैज्ञानिकहरूले ब्ल्याक होल वरपरको गुरुत्वाकर्षण तरंगहरूमा सूचना चुहावटका सूक्ष्म चिन्हहरू पत्ता लगाउन सकिने नयाँ विधि पत्ता लगाएका छन्।
सन् १९७६ मा खगोल भौतिकशास्त्री स्टीफन हकिङले ब्ल्याक होल पूर्णतया कालो हुँदैन र यसले अलिकति विकिरण उत्सर्जन गर्ने तथ्य सार्वजनिक गर्दै खगोल विज्ञानमा नयाँ अध्याय थपेका थिए। हकिङका अनुसार, लामो समयपछि ब्ल्याक होलले विकिरणका कारण आफूलाई समाप्त गर्छ। तर, यसले ब्ल्याक होलले निलेको पदार्थको सूचना हराउने समस्या उत्पन्न गर्यो, जसलाई “ब्ल्याक होल सूचना रहस्य” भनिन्छ।
सूचना रहस्यका समाधानका लागि दशकौंसम्म विभिन्न सिद्धान्तहरू प्रस्तावित भए। तिनैमध्ये एक “ननभाएलेन्ट ननलोकालिटी” सिद्धान्तले ब्ल्याक होलको भित्री र बाहिरी भाग “क्वान्टम ननलोकालिटी” मार्फत जडान हुने बताउँछ। यो सिद्धान्तमा परस्पर सम्बन्धित कणहरूले एउटै क्वान्टम अवस्था साझा गर्छन्, जसलाई आइन्स्टाइनले “स्पूकी एक्शन एट अ डिस्टेन्स” भनेका थिए।
स्पेस डटकमका अनुसार, यो ननलोकालिटी “ननभाएलेन्ट” हुन्छ, किनकि यसले ब्ल्याक होल वरपर कुनै ठूलो विस्फोट वा उर्जाशील घटना गराउँदैन। यसको प्रभावले ब्ल्याक होलको वरपरको स्पेस टाइममा स-साना तर सुनियोजित परिवर्तनहरू पैदा गर्छ। यस्ता परिवर्तनहरू ब्ल्याक होलभित्रको सूचनासँग सम्बन्धित हुन्छन्, जसले ब्ल्याक होल हराएपछि पनि सूचना सुरक्षित राख्न सक्ने सम्भावना देखाउँछ।
क्याल्टेकका अनुसन्धानकर्ताहरूले यस्ता क्वान्टम सम्बन्धहरूको चिन्ह गुरुत्वीय तरंगहरूमा पनि देखिने बताएका छन्। ब्ल्याक होलहरूको टक्करबाट उत्पन्न हुने तरंगहरूको स्पेक्ट्रममा स-साना तरलका रूपमा देखिने यस्ता संकेतहरू विशेष हुन्छन्। हाल उपलब्ध उपकरणहरू जस्तै लेजर इन्टरफेरोमिटर ग्राभिटेशनल वेभ अब्जरभेटरी (LIGO) र भर्गो इन्टरफेरोमिटरले यी चिन्ह अलग गर्न नसक्ने भए पनि भविष्यका अत्याधुनिक उपकरणहरूले यो सम्भावनालाई प्रमाणित गर्न सक्ने अनुमान गरिएको छ।