एलियन खोजीमा ऐतिहासिक मोड

वैज्ञानिक समुदायले अहिलेसम्म बाह्य जीवन (एलियन) को अस्तित्व पुष्टि गर्ने ठोस प्रमाण फेला पार्न सकेको छैन। तर अन्तरिक्षमा बुद्धिमान जीवनको सम्भावना खोज्ने प्रयास भने निरन्तर जारी छ। यही खोजको क्रममा विश्वकै सबैभन्दा ठूलो परियोजनामध्ये एक मानिने सेटी एट होम (SETI@Home) परियोजना अब एउटा निर्णायक चरणमा प्रवेश गरेको छ।

१९९९ मा सुरु गरिएको सेटी एट होम परियोजनाको मुख्य उद्देश्य अन्तरिक्षबाट आउने रेडियो संकेतहरूको विश्लेषण गरेर सम्भावित बुद्धिमान जीवनको संकेत पत्ता लगाउनु थियो। यसका लागि प्युर्टो रिकोमा रहेको अरेसिबो वेधशालाको विशाल रेडियो टेलिस्कोप प्रयोग गरिएको थियो। विश्वभरका लाखौँ स्वयंसेवकहरूले आफ्नो कम्प्युटरमा सेटी एट होम सफ्टवेयर डाउनलोड गरी परियोजनामा सहभागी भए र प्राप्त डाटाका साना टुक्राहरू विश्लेषण गर्न योगदान दिए।

तर सन् २०२० मा अरेसिबो वेधशालामा भएको केबल विफलताले टेलिस्कोप पूर्ण रूपमा बन्द हुन पुग्यो। यसले परियोजनाको भविष्यलाई अन्योलमा पारे पनि वैज्ञानिकहरूले यसअघि संकलन गरिएको २१ वर्षको अमूल्य डाटा सुरक्षित गर्न सफल भए। उक्त डाटामा अन्तरिक्षबाट आएका करिब १२ अर्ब रेडियो संकेतहरू समावेश छन्, जसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो एलियन संकेत डाटासेट मानिन्छ।

क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार, यो विशाल डाटाको व्याख्या गर्ने प्रक्रिया अब अन्तिम चरणमा पुगेको छ। परियोजनाका सह–संस्थापक तथा कम्प्युटर वैज्ञानिक डेभिड एन्डरसनले यी संकेतहरू अन्तरिक्षको निश्चित बिन्दुबाट आएको जस्तो देखिने बताएका छन्। ती संकेतहरू विशिष्ट फ्रिक्वेन्सीमा पठाइएका ऊर्जाका तरंगजस्तै रहेको उनको भनाइ छ।

परियोजनाले विशेषगरी २१ सेन्टिमिटर तरंगदैर्ध्य नजिकका रेडियो संकेतहरूमा ध्यान केन्द्रित गरेको थियो, जुन सामान्यतया आकाशगंगामा पाइने हाइड्रोजन ग्यास अध्ययन गर्न प्रयोग गरिन्छ। लामो समयको विश्लेषणपछि वैज्ञानिक टोलीले अरबौँ संकेतहरूलाई संकुचित गर्दै करिब १०० सम्भावित उम्मेदवार संकेत पहिचान गरेको छ।

यी सम्भावित संकेतहरू अहिले चीनमा रहेको फास्ट (FAST) रेडियो टेलिस्कोपमार्फत पुनः परीक्षण गरिँदैछन्। वैज्ञानिकहरूका अनुसार, नतिजा चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ। यद्यपि, सबैभन्दा ठूलो चुनौती भनेको पृथ्वीबाटै उत्पन्न हुने रेडियो हस्तक्षेप र अन्तरिक्षबाट आउन सक्ने वास्तविक संकेतबीच स्पष्ट भिन्नता छुट्याउनु हो।

यदि यी संकेतहरूमध्ये कुनै एक पनि बुद्धिमान जीवनसँग सम्बन्धित प्रमाणित भएमा, मानव इतिहासमै सबैभन्दा ठूलो वैज्ञानिक खोज हुने निश्चित छ। नत्र पनि, यस परियोजनाले भविष्यका अन्तरिक्ष खोज कार्यक्रमहरूका लागि नयाँ प्रविधि, विधि र संवेदनशीलताको स्तर स्थापना गरेको वैज्ञानिकहरूको निष्कर्ष छ।

तपाईको प्रतिकृया