
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन ले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले सरकारलाई पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको जानकारी दिनुभएको छ। मन्त्री पुनका अनुसार, मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनको लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली लाई प्रतिवेदन बुझाइएको भए पनि सार्वजनिक गरिएको थिएन।
मन्त्री पुनले यसबाहेक नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरूको उपचारमा प्रयोग हुने अत्यावश्यक रेडियोधर्मी औषधि उत्पादन नेपालमै गर्नका लागि आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्ने निर्णय गरिएको जानकारी दिनुभयो। यो केन्द्र विशेष रूपमा औषधि उपचारका लागि मात्र सञ्चालन हुने छ। मन्त्री पुनका अनुसार, यस कदमले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता बढाउने तथा रेडियोधर्मी औषधिको आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, मन्त्री पुनले नेपाल विज्ञान तथा प्रविधि प्राधिकरण (नास्ट) मा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई उपलब्धिमूलक बनाउन आवश्यक सुधार र पुनर्संरचना गर्ने कार्यदल तुरुन्त गठन गर्ने निर्णय भएको बताए। यसले प्रतिभाशाली नेपालीहरूलाई संस्थामा आकर्षित गर्न र संस्थाको प्रभावकारीता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
अर्कोतर्फ, संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगका पदाधिकारीहरूको स्थानमा नियमानुसार तत्काल नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यसले विश्वविद्यालय प्रशासनिक कामकाजमा सहजता र पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।
मन्त्री पुनले यस अवसरमा शिक्षा, विज्ञान र स्वास्थ्य क्षेत्रका सुधार तथा नवप्रवर्तनका योजनामा सरकारको प्रतिवद्धता दोहोर्याउनुभएको छ। उहाँले स्पष्ट गर्नुभयो कि यी निर्णयहरू दिगो विकास, वैज्ञानिक अनुसन्धान र जनस्वास्थ्यमा सुधारका लागि आवश्यक कदम हुन्।

