स्काइपको अन्तिम घण्टी: मे ५ देखि सेवा बन्द हुँदै

बीबीसीका अनुसार, दुई दशकभन्दा लामो समयदेखि इन्टरनेटमार्फत सञ्चारको क्रान्ति ल्याएको स्काइपले आगामी मे ५ मा अन्तिम पटक घण्टी बजाउनेछ। माइक्रोसफ्टले आफ्नै व्यवसायिक सञ्चार सेवा टिम्स (Teams) मा ध्यान केन्द्रित गर्न स्काइपलाई बन्द गर्ने घोषणा गरेको हो।

सन् २००३ मा स्थापना भएको स्काइप एक समय लाखौं प्रयोगकर्तासहित विश्वकै अग्रणी सञ्चार माध्यममध्ये एक थियो। यसको अडियो र भिडियो कल सेवाले टेलिफोन व्यवसायमा ठूलो परिवर्तन ल्याएको थियो। तर, प्रविधि विकाससँगै जुम (Zoom) र स्ल्याक (Slack) जस्ता प्रतिस्पर्धी सेवाहरू लोकप्रिय बन्दै गएपछि स्काइप विस्तारै कमजोर बन्दै गयो।

विशेष गरी, स्काइपको प्रविधि स्मार्टफोन युगका लागि उपयुक्त नभएको कारण यसको लोकप्रियता घट्दै गयो। महामारीको समयमा घरबाटै काम गर्ने चलन बढेपछि, माइक्रोसफ्टले टिम्सलाई आफ्नो प्रमुख सञ्चार उपकरण बनायो। माइक्रोसफ्ट अफिससँग टिम्सको एकीकरण गर्दै कर्पोरेट प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने रणनीति लिएको थियो, जसका कारण स्काइप झन् पछाडि पर्‍यो।

माइक्रोसफ्टले स्काइपका प्रयोगकर्ताहरूलाई उनकै खाता प्रयोग गरेर टिम्समा लगइन गर्न मिल्ने व्यवस्था गरेको छ। सबै च्याट र सम्पर्क सूची पनि टिम्समा स्वतः माइग्रेसन गरिने भएकाले प्रयोगकर्ताहरूलाई सहज हुनेछ।

सन् २०११ मा माइक्रोसफ्टले ८.५ अर्ब अमेरिकी डलरमा स्काइप खरिद गरेको थियो, जसले त्यतिबेला करिब १५ करोड मासिक प्रयोगकर्ता राख्थ्यो। तर, सन् २०२० सम्म आइपुग्दा यसको प्रयोगकर्ता संख्या २.३ करोडमा झरेको देखिएको छ। महामारीको समयमा अलिकति पुनरुत्थान भए पनि दीर्घकालीन रूपमा यो प्रतिस्पर्धामा टिक्न सकेन। हाल माइक्रोसफ्ट टिम्सका मासिक सक्रिय प्रयोगकर्ता ३२ करोड रहेको बताइएको छ।

माइक्रोसफ्टका अनुसार, स्काइप अहिलेसम्मकै प्रभावशाली सञ्चार माध्यममध्ये एक रहेको छ, जसले डिजिटल सञ्चारको स्वरूप नै परिवर्तन गरिदिएको छ। कम्पनीले सेवा बन्द भए पनि कुनै रोजगारी कटौती नहुने जानकारी दिएको छ।

तपाईको प्रतिकृया