
जापानी उद्यमीहरूले नेपालका आईटी कम्पनी र पेशेवरलाई साझेदारको रूपमा खोज्दै आएका छन्। जापान–नेपाल आईटी एसोसिएसनले जनाएको छ, जापानको सञ्चार तथा सूचना प्रविधि बजार करिब ४७ करोड डलरको रहेको अनुमान छ भने आईटी सेवा क्षेत्रको आकार ९० अर्ब डलर पुगेको छ। उक्त क्षेत्रको वार्षिक वृद्धिदर करिब ८ प्रतिशत रहेको छ।
जापानी उद्यमीहरू नेपालमा ‘इन्नोभेसन ल्याब’ स्थापना गरी अनुसन्धान तथा विकासलाई प्राथमिकता दिन चाहेका छन्। नन्काई इलेक्ट्रिक रेलवेका व्यवस्थापक योही सुकामोटोले भने, “हामी नेपालका आईटी कम्पनी र इन्जिनियरलाई सेवाप्रदायक नभई साझेदारको रूपमा खोज्दैछौं। नेपाली इन्जिनियरले नेपालमै बसेर विश्वस्तरीय काम गर्न सक्छन्। टोकियोमा हाम्रो ट्रान्सपोर्टेसन एआई परियोजना काठमाडौंका इन्जिनियरहरूले नै गरेका थिए।”
हाल जापानमा २० भन्दा बढी नेपाली आईटी कम्पनी र ५०० भन्दा बढी नेपाली आईटी पेशेवर कार्यरत छन्। एसोसिएसनका अध्यक्ष शरद राईका अनुसार नेपाली आईटी पेशेवरको हिस्सा हाल जापानी बजारमा ०.१ प्रतिशत मात्र रहेको छ। जापानमा सफ्टवेयर विकास, वेब र मोबाइल एप्लिकेसन, आर्टिफिसियल इन्टेलिजेन्स, सिस्टम इन्टिग्रेसन, क्लाउड माइग्रेशन, डेटा एनालिटिक्स, साइबर सुरक्षा र इम्बेडेड प्रणालीको उच्च माग छ।
जापानी बजारमा दक्ष जनशक्तिको अभाव रहेकोले, नेपाली युवा र प्राविधिक क्षमता अवसरका रूपमा देखिन्छ। जापानको ३० प्रतिशतभन्दा बढी आईटी कामदार ५० वर्षमाथिका छन् र २०३० सम्म करिब १२ लाख पद खाली हुने अनुमान गरिएको छ। यसैलाई मध्यनजर गर्दै नेपालले सामूहिक प्रयास र कूटनीतिक पहल मार्फत आफ्नो ब्रान्डिङ गर्न आवश्यक छ।
विशेषज्ञहरूले नेपालका आईटी कम्पनीहरूले जापानी शैलीको काम गर्ने संस्कृतिलाई आत्मसात गर्दै भविष्यका लिडर बन्ने अवसर लिन सक्ने बताए। तर, भन्सार शुल्क, अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली र नीतिगत चुनौतीहरू अझै समाधान गर्न बाँकी रहेको छ।
नेपाल–जापान आईटी साझेदारीले न केवल सेवा निर्यात बढाउनेछ, तर नेपाली युवा पेशेवरहरूको क्षमता अन्तर्राष्ट्रिय स्तरमा देखाउने अवसर पनि प्रदान गर्नेछ।

