
बिबिसीका अनुसार, स्पेसएक्सका संस्थापक एलन मस्कले आफ्ना महत्वाकांक्षी योजनाअनुसार पहिलो स्टारशिप रकेट मंगल ग्रहतर्फ २०२६ भित्र प्रक्षेपण गरिने बताएका छन्। यदि सुरुवाती मिसनहरू सफल भएमा मानव अवतरण २०२९ सम्ममा सम्भव हुने सम्भावना रहेको उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा उल्लेख गरेका छन्। तथापि, मस्कले २०३१ अधिक सम्भावित समयसीमा रहेको स्वीकारेका छन्।
स्टारशिप अहिलेसम्मको सबैभन्दा ठूलो रकेट प्रणाली हो, जसको उचाइ १२३ मिटर रहेको छ। मस्कको लक्ष्य यसलाई प्रयोग गरी मंगल ग्रहमा मानव वस्ती बसाल्ने रहेको छ। तर, लगातारको परीक्षण असफलताले यो योजनालाई चुनौती दिइरहेको छ। केही दिनअघि टेक्सासबाट परीक्षणका क्रममा प्रक्षेपण भएको स्टारशिप विस्फोट भएको थियो, जुन यस वर्षकै दोस्रो असफलता हो। यसअघि, जनवरीमा पनि यस्तै ‘र्यापिड अनस्केडुल्ड डिसएसेम्बली’ अर्थात् आकस्मिक विस्फोट भएको थियो।
स्पेसएक्सले पछिल्लो दुर्घटनाको कारण पत्ता लगाउन डेटा विश्लेषण गरिरहेको जनाएको छ। कम्पनीका अनुसार, रकेटका केही इन्जिनहरू बन्द भएपछि विस्फोट भएको थियो। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले यस दुर्घटनापछि स्पेसएक्सलाई थप अनुसन्धान गर्नुपर्ने बताउँदै अर्को उडानका लागि स्वीकृति दिनुअघि सुरक्षा प्रक्रिया पुरा गर्नुपर्ने स्पष्ट पारेको छ।
नासाले पनि आफ्ना आर्टेमिस मिसनका लागि परिमार्जित स्टारशिपलाई मानव चन्द्र अवतरण यानको रूपमा प्रयोग गर्ने योजना बनाएको छ। मस्कले मंगल ग्रहमा बसोबास स्थापना गर्न चाहने आफ्नो दीर्घकालीन योजनासँगै मानव जातिलाई बहुग्रही बनाउने दाबी गरेका छन्।
यसअघि पनि मस्कले पटक-पटक मंगल यात्राको सम्भावना सार्वजनिक गर्दै आएका छन्। २०१६ मा उनले ड्र्यागन स्पेसक्राफ्ट २०१८ भित्र मंगल पठाउने बताएका थिए। २०२० मा उनले आफ्नो कम्पनीले २०२६ सम्ममा मानव अवतरण गराउने विश्वास व्यक्त गरेका थिए। २०२४ मा भने उनले २०२६ भित्र पहिलो स्टारशिप मंगल पठाइने र २०३० भित्र मानव पठाउने बताएका थिए।
यस मिसनमा मस्कको कम्पनी टेस्लाद्वारा निर्माण गरिएको ‘अप्टिमस’ नामक मानवसदृश रोबोट पनि पठाइने छ। सार्वजनिक रूपमा गत वर्ष प्रस्तुत गरिएको उक्त रोबोटले दैनिक काम गर्न सक्ने र यसको मूल्य २०,००० देखि ३०,००० अमेरिकी डलर पर्ने मस्कले बताएका छन्।
यसैबीच, स्पेसएक्सले केही दिनअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) तर्फ फाल्कन ९ रकेटमार्फत दुई जना अन्तरिक्ष यात्रीलाई पठाएको थियो। तर, बोइङले निर्माण गरेको नयाँ अन्तरिक्ष यानमा प्राविधिक समस्या देखिएपछि उक्त अन्तरिक्ष यात्रीहरू नौ महिनासम्म पृथ्वी फर्किन सकेका छैनन्। उनीहरू आठ दिनको लागि मात्र अन्तरिक्षमा पठाइएका थिए।